गुमनाम गुर्जाे एकाएक चर्चामा, के भन्छन् चिकित्सक ? (भिडियोसहित)

गुमनाम गुर्जाे एकाएक चर्चामा, के भन्छन् चिकित्सक ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजीमा छन् । तर अहिलेसम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणसँग बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको विकास हुनु नै अहिलेको उपयुक्त उपाय मानिएको छ ।

मानिसहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउने घरायसी जडिबुटीप्रति चासो बढाउँदै गएको देखिन्छ । त्यसैमध्येको एक हो पछिल्लो समय नेपालमा प्रचलनमा रहेको गुर्जो । नेपालमा अहिले गुर्जोको प्रयोग बढेको छ । हरेक पसलमा गुर्जो विक्री गर्न राखिएको पनि देखिन्छ । विज्ञ डा. ऋषिराम कोइराला पनि रोग प्रतिरोधात्मक क्षमता विकासका लागि गुर्जो प्रयोग गर्नु उपयुक्त हुने बताउँछन् । उनले गुर्जो दैविककालदेखि नै उल्लेखित जडिबुटी भएको र पछिल्लो समय वैज्ञानिक रुपमा अध्ययन गरिएका तथ्यहरुले पनि प्रमाणित गरिसकेको बताए । रगतमा हुने हेल्परटिसियल्सहरुको क्षमता बढाउने र शरीरमा हुने एन्टीजिन प्रोसेसलाई राम्रोसँग व्यवस्थित गर्ने गुण गुर्जोमा हुने उनले बताए ।

गुर्जोको प्रयोग धुलो बनाएर वा उमालेर खान सकिन्छ । डा. कोइरालाका अनुसार हरियो गुर्जो छ भने सानो एक टुक्रालाई थिचेर पानीमा उमालि छानेर चिया जस्तै खान सकिन्छ भने सुकेको गुर्जो भए धुलो बनाई पानीमा घोलेर वा त्यतिकै पनि एक चम्चासम्म खान सकिन्छ । कोभिड १९ संक्रमणसँग लडनका लागि पनि गुर्जो प्रभावकारी हुने उनले बताए । कोभिड संक्रमण भएका मानिसहरुले समेत दिनमा दुई तीन पटकसम्म खान सक्ने उनको भनाइ छ । गुर्जो गर्भवती र गम्भिर प्रकृतिका विरामीहरुले भने खान नहुने डा. कोइरालाले बताए । तर यो सबै उमेरकाले खान हुने पनि उनले बताए ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल आयुर्वेदमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भनी व्याख्या गरिएका संस्कृत भाषामा अमृता भनिने गुर्जोबाट बनेको गुडुचो चिया स्क्वास, तुलसी चिया, जेठीमधु चूर्ण, शुद्ध अमलाबाट बनाएका आमालकी चूर्ण, र स्वगन्धा चूर्ण लगायत जडीबुटीबाट बनेका उत्पादनको माग विगत वर्षभन्दा चार गुणसम्म बढेको बताउँछन् ।

वि.सं.०७६ चैत अघि तुलसी चियाको खपत वार्षिकरुपमा सरदर सात हजार २३१ पोका हुन्थ्यो, यस वर्ष सात महिनामै १३ हजार ६५७ पोका बिक्री भइसकेको छ । समितिबाट गत वर्ष अश्वगन्धा ८१८ पोका मात्र बिक्री भएको थियो ।

यस वर्ष छ हजार ३८८ पोका गइसकेको छ । यसैगरी यस वर्ष माग भएर नयाँ बनाइएको ज्येष्ठवासादि चूर्ण चार हजार २०२ पोका बिक्री भइसकेको छ । गत वर्ष भण्डार रहेको बिक्री भइरहेको जेठीमधु चूर्ण पनि यस वर्ष दुई हजार २७१ पोका बिक्री भइसकेको छ । कात्तिक लागेसँगै समितिले रोग प्रतिरोधी क्षमता बढाउने च्यवनप्रास पनि बनाउने तयारी गरेको छ । माग अनुसार पूर्ति गर्न धौधौ भए पनि अहिलेसम्म समितिले बजारमा आवश्यकता अनुसार पूरा गर्न सफल भएको छ । कोरोना भाइरसको फैलावटसँगै गुर्जोका बिरुवा लगाउने बढे पनि अमलालाई भने बिर्सन थालिएकाले यसतर्फ पनि अभियानकर्मीको ध्यान जानुपर्ने प्रबन्ध निर्देशक खरेल बताउँछन् ।

Logo