दशैंमा रेमिट्यान्स : कोरोनाले विगत जस्तो उत्साह ल्याएन

दशैंमा रेमिट्यान्स : कोरोनाले विगत जस्तो उत्साह ल्याएन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीमा गएका कयौँ नेपाली कामदारहरुले रोजगारी गुमाए भने कयौँ कामदारको तलब कटौती भएको छ ।

यसै समस्याका कारण वैदेशिक रोजगारीमा गएर रोजगार गुमाएका कयौँ कामदारहरुले दशैंका बेला विना पैसा घर फर्कनु पर्ने बाध्यता भएको छ भने रोजगारी गुमाएका तर विदेशमै बसेका कामदारहरुले दशैंका लागि घरमा पैसा पठाउन सकेका छैनन् । गुल्मी–अर्जेका मानबहादुर ज्ञवाली अहिले साउदी अरबमा कार्यरत छन् । कोरोना भाइरसको संक्रमणसँगै आफ्नो रोजगारी पनि प्रभावित भएको उनी बताउँछन् । उनको काम पनि राम्रोसँग चलेको छैन भने तलब पनि कटौती भएको छ । जसका कारण गत वर्षहरुमा जस्तो यसपाली दशैंमा खर्च पठाउन नसकेको उनले बताए ।

त्यसैगरी, चितवन गितानगरका ईश्वर अर्याल कतारमा कार्यरत छन् । उनी आफैं कोरोना पोजेटिभ भए । लामो समयसम्म काममा जान सकेनन् । उनी निको भएर काम फर्के तर कम्पनीले तलब कटौती गरेर मात्रै दियो । त्यसैले उनले पनि गतवर्ष जस्तै मन खोलेर घरमा दशैं खर्च पठाउन सकेनन् । गुल्मीका ज्ञवाली र चितवनका अर्याल प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्तै कयौँ नेपाली कामदारले रोजगारी गुमाएका छन् भने कयौँको तलब कटौती भएको छ । जसले गर्दा नेपालमा भएका उनीहरुको परिवारमा दशैंको रौनक आएको छैन ।

हुन त कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले पनि यसपालीको दशैंमा कुनै रौनक छैन । त्यसैमाथि पनि विदेशबाट पैसा आउला र दशैं मनाउँला भन्ने आश्रित परिवारलाई यसले निकै असर पारेको छ । उनीहरुको दशैं खल्लो भएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या लगातार घट्दा पनि रेमिट्यान्स आप्रवाहमा ठूलो असर नदेखिनुको कारण सबै कामदारहरुले वैधानिक च्यानलबाट रेमिट्यान्स पठाएकाले हो भन्छन्, राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेल । कोरोनाका कारण कुनै पनि मुलुकबाट मानिसहरुको आवतजावत कम भएका कारण हुण्डी लगायतका अन्य अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउन पाएको छैन ।

त्यसले औपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढेका कारण खासै ठूलो असर नदेखिएको सहायक प्रवक्ता पोखरेलले बताए । राष्ट्र बैंकले कोरोना संक्रमणका कारण जुन रुपमा रेमिट्यान्स घट्ने आँकलन गरेको थियो, सोही अनुपातमा भने रेमिट्यान्स प्रभावित भएको छैन । अर्काे तर्फ कोरोनाका कारण विशेष गरी खाडी मुलुकमा काम गर्न जाने कामदार बढी मात्रामा प्रभावित भएका छन् । खाडी मुलुकबाट आउने रेमिट्यान्सको हिस्सा ठूलो छ । तर त्यहाँबाट रेमिट्यान्स प्रभावित हुँदा पनि अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा विभिन्न युरोपियन मुलुकबाट आएको रेमिट्यान्सले कोरोनाले पारेको खाडल पूर्ति गरेको छ ।

यस्तो छ नेपालमा विप्रेषणको स्थिति

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्स आप्रवाहको प्रवृत्तिलाई हेर्दा पछिल्ला वर्षहरुमा क्रमशः बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार हरेक वर्ष ७/८ अर्ब रुपैँयाँको हाराहारिमा रेमिट्यान्स नेपाल भित्रिने गरेको छ । जसमा दशैंलाई लक्षित गर्दै हरेक असोज महिनामा भित्रिने रेमिट्यान्स करिब ९० अर्बको हाराहारीमा छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत वर्षको असोज महिनामा ७७ अर्ब रुपैँयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/७६ मा ८८ अर्ब, आर्थिक वर्ष ०७४/७५ मा ६१ अर्ब, आर्थिक वर्ष ०७३/७२ को असोजमा ५७ अर्ब र आर्थिक वर्ष ०७१/७२ मा ५९ अर्ब रुपैँयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०६५/६६ मा २ खर्ब ९ अर्ब विप्रेषण आप्रवाह रहेको छ । यस्तो आप्रवाह क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा ८ खर्ब ७९ अर्ब पुगेको देखिन्छ । तथापि, वृद्धिदरको आधारमा हेर्दा पछिल्ला वर्षहरुमा विप्रेषणको वृद्धिदर कम हुँदै गएको देखिन्छ । आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशतले बढेको विप्रेषणको वृद्धिदर त्यसपछिका वर्षहरुमा क्रमशः घट्दै गई आर्थिक वर्ष २०७१/७२ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा ७.७ प्रतिशत, आर्थिक वर्ष २०७४ मा ४.६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ८.६ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ को दोस्रो महिनादेखि भने विप्रेषण आप्रवाह रकममा केहि कमी आएको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को चार महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आई ३ खर्ब ४ अर्ब ९७ करोड कायम भएको देखिन्छ । आर्थिक वर्ष २०६५/६६ मा कुल विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २१.२ प्रतिशत रहेकोमा यस्तो अनुपात क्रमशः वृद्धि हुँदै आर्थिक वर्ष २०७२/७३ मा २९.६ प्रतिशत पुगेको थियो । आर्थिक वर्ष २०७५/७६ मा सो अनुपात २५.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

विप्रेषण नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको छ । वाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पूँजी निर्माणमा समेत विप्रेषण आप्रवाहको महत्वपूर्ण भूमिका रहेको छ । विगत केही वर्ष यता वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या घट्दै आएको छ । श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या आर्थिक वर्ष २०७०/७१ मा अधिकतम ५ लाख २७ हजार ८१४ पुगेको थियो भने यो संख्या आर्थिक वर्ष २०७५/७६ मा २ लाख ४३ हजार ८ सय ६८ रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनाको तथ्याङ्क अनुसार कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएका छन् । उक्त अवधिमा खाडी मुलुकहरुबाट प्राप्त भएको विप्रेषण कुल विप्रेषण आप्रवाहको करिब ५०.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । राष्ट्रिय र प्रादेशिक महत्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने संयन्त्र विकास गर्ने, औपचारिक माध्यमबाट विप्रेषण आप्रवाह आकर्षित गर्न विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउने र वित्तीय पहुँच बिस्तार गर्ने लगायतका कार्यले रेमिट्यान्स रकमको उत्पादनशील उपयोग बढाउन सकिने देखिन्छ ।

Logo