चाडबार्ड लक्षित यात्रु सहायता कक्ष स्थापना

चाडबार्ड लक्षित यात्रु सहायता कक्ष स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुल्चोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

चाडबार्डका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिए । उनले भने, “दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबार्डको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौं”, उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिकरूपमा मङ्गलबार उद्घाटन गरे । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटन जस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिकरुपमै कार्यको शुभारम्भ भएको घोषणा गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबार्ड मनाउन आग्रह गरिएकाले सोही अनुरुप मनाउन आग्रह गरे। उनले यसपटक विल्कुलै फरक तवरले चाडबार्ड मनाउनु पर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे। उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबार्डमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारको निर्देशन अनुरुप नै यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताए। उनले चाडबार्डका बेला बसमा हुने विभिन्न घटना रोक्न महासङ्घ पनि तयारी अवस्थामा रहेको भन्दै सहायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुन सक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्ने जस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने ट्राफिक प्रमुख भट्टले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् ।

Logo