हावाहुरीले थाहानगरमा लाखौंको तरकारीमा क्षति, किसान चिन्तित

हावाहुरीले थाहानगरमा लाखौंको तरकारीमा क्षति, किसान चिन्तित

केन्द्रबिन्दु
3
Shares

बङ्गालको खाडीबाट उत्पन्न भएको यास चक्रवातका कारण देशैभर हावाहुरीसँगै वर्षा भइरहेको छ। हावाहुरी र वर्षाका कारण अन्य क्षेत्रमा झैं कृषि क्षेत्रमा पनि भारी मात्रामा असर पुर्याइरहेको छ।

यसैक्रममा तरकारीको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको पूर्वी क्षेत्रमा उच्च वेगको हावाहुरीबाट धेरै क्षति पुगेको छ। शुक्रबार बिहान ५ बजे र दिउँसो १२ बजेतिर आएको हावाहुरीले तरकारी खेतीको टनेल उडाएको हो।

खेतबारीमा बाँस, फलामे डण्डी र प्लाष्टिकबाट बनाएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन्। टनेलसँगै उत्पादन भइरहेको काउली, गोलभेंडा, खुर्सानी लगायतका तरकारीसमेत नष्ट भएका छन्।

थाहा नगरपालिका १० बिसिङ्खेलमा लगभग सबै टनेलमा क्षति पुगेको कृषक कर्णकुमार गोपालीले बताए। उनका अनुसार अहिल्यै सबै जानकारी नभएपनि बाँसबाट निर्मित टनेलहरुमा पूर्णरुपमा क्षति पुगेको छ।

यसअघि बैशाख महिनामा परेको असिना पानीले पनि थाहा नगरपालिका क्षेत्रमा तरकारी खेतीमा क्षति पुगेको थियो। पटकपटक तरकारी खेतीमा क्षति पुगेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर किसानलाई राहत दिनुपर्ने किसान अगुवाहरुको माग छ।

उच्च पहाडी क्षेत्रमा रहेको थाहा नगरपालिकामा वर्षैभर चिसो हावापानी हुने भएकाले बेमौसमी तरकारीका लागि समेत चर्चित छ। थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबाराही, चित्लाङ लगायतका स्थानमा उत्पादित तरकारी काठमाडौं, हेटौंडासहित देशमा विभिन्न स्थानमा निर्यात गरेर किसानहरुले राम्रो आम्दानी समेत गर्दै आएका छन्।
–सिम्रन खड्का, मकवानपुर

Skip This
Skip This
Logo