महामारीमा कलाकारको जिउने आधार, म्युजिक भिडियोमा बहार !

महामारीमा कलाकारको जिउने आधार, म्युजिक भिडियोमा बहार !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

‘अब त यस्तो लागिसक्यो कि, चमत्कार नै होस्, सरकारले सूचना जारि गरोस्– ल सब ठिकठाक भयो । सबैजना आ–आफ्नो काममा फर्कन सक्नु हुनेछ ।’, अभिनेता विपिन कार्कीको मनोकांक्षा हो यो । तर, सोचे जस्तो कहाँ हुन्छ र ! विपिन यतिबेला पट्यारलाग्दो दैनिकीबाट ग्रसित छन् । अभिनयको हुटहुटी जागिरहेको छ, भाइरस आतंकले अपहरित स्वतन्त्र जीवनशैलीको चाह तीब्र छ । तथापि दिनानुदिन बढ्दो संक्रमणदर र यसको त्रासले सबै चाहनाहरू कुण्ठित छन् ।

गत चैत ५ गतेबाट ठप्प भएको चलचित्र बजार त्यो भन्दा अघिबाटै प्रभावित थियो । अझ लकडाउन, निषेधाज्ञा अनि भाइरस संक्रमण त्रासले यसलाई धेरै पछि धकेलिदिएको छ । अन्य क्षेत्र झैं, मनोरञ्जन बजार पनि नमज्जासँग थलिएको छ । बेरोजगारीपन, अन्यौलग्रस्त जीवनशैली कोभिड–१९ ले जन्माएको साझा विशेषता हो । यही विशेषताको टोकरीमा बस्न बाध्य छन्, कलाकार, प्राविधिक, निर्देशक, निर्माता, वितरकदेखि हल सञ्चालकसम्म ।

यसले नेपाली फिल्म उद्योगको घाटादर उच्च बनाएको छ, जनशक्ति अस्थिर र पलायनको अवस्थामा पुगेको छ । त्यो भन्दा ठूलो मानसिक तनावको समस्या विकराल बन्ने देखिन्छ । तथापि, यतिबेला नेपाली मनोरञ्जन बजारको एउटा आधारको रुपमा खडा भएको छ, गीत–संगीत र म्युजिक भिडियो बजार । भाइरस प्रभावले शिथिल चलचित्र बजारमा बाहिरबाट सरसर्ती हेर्दा म्युजिक भिडियो बजारले केही मल्हम लगाएको हो कि भन्ने महशुस गर्न सकिन्छ । लकडाउनको समय पछिकै कुरा गर्दा ठूलो पर्दामा चलिरहेका अनुहारहरू नै म्युजिक भिडियो केन्द्रित देखिएका छन् । यसको अर्थ महामारी असरका कारण शिथिल कलाक्षेत्र थोरै भएपनि सक्रिय भएको हो कि भन्ने भान हुन्छ ।

लकडाउनको समय पछिकै कुरा गर्दा ठूलो पर्दामा चलिरहेका अनुहारहरू नै म्युजिक भिडियो केन्द्रित देखिएका छन् ।

अभिनेता विपिन कार्कीकै कुरा गर्दा, उनी ‘डर छैन’ बोलको म्युजिक भिडियोमा देखिए । हुन त भर्सटाइल कलाकारका रूपमा चिनिएका कार्कीले यस अघि पनि म्युजिक भिडियोमा काम नगरेका होइनन् । केही सन्देश प्रवाह गर्न अथवा कुनै समय र कालखण्डलाई देखाउन सकिन्छ भने, एउटा कलाकारका लागि म्युजिक भिडियो पनि अभिनयको उत्कृष्ट मञ्चको रूपमा ग्रहण गर्न सकिने बिचार राख्ने कार्की यस वर्ष भने फ्रि भएकै कारण म्युजिक भिडियोमा काम गरेको बताउँछन् । अर्थात् भाइरस प्रभावले सबै योजनाहरू भताभुंग बनाइदिएपछि अभिनयको भोक मेटाउनकै लागि भएपनि म्युजिक भिडियो गरेको कार्कीको अनुभव छ ।

कम संख्यामा म्युजिक भिडियोमा अभिनय गर्ने पात्र विपिन त एक उदाहरण मात्र हुन् । फिल्म बजारको गतिविधी शून्य हुँदा, अभिनेता दयाहाङ राईदेखि, बुद्धी तामाङ, नायिका सुरक्षा पन्त, केकी अधिकारी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, वर्षा शिवाकोटी, पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, पूजा शर्मा, वर्षा राउत, आँचल शर्मा लगायतका कलाकारहरू धेर थोर जति भए पनि म्युजिक भिडियोमा व्यस्त रहे । केही फिल्म निर्देशकहरू पनि फिल्म निर्माणको माहोल नहुँदा म्युजिक भिडियोमै चित्त बुझाउन बाध्य रहे । यतिमात्र नभएर पूराना कलाकारहरू, राजेश हमाल, मिथिला शर्मा लगायत पनि छिटफुट म्युजिक भिडियोमा देखिन थालेका छन् ।

समग्रमा हेर्दा चलचित्र बजारको शून्यतामा म्यूजिक भिडियोको बहार आएको छ । यसो हुनुमा ३ महिना लामो लकडाउन अनि निषेधाज्ञामा रोकिएका प्रोजेक्टहरू माथि धमाधम काम हुँदा धेरै भिडियो तयार भएको बताउँछन् निर्देशक टेकेन्द्र शाह । यससँगै अन्य समय फिल्ममा व्यस्त हुने कलाकारहरूले म्युजिक भिडियो छायांकनका लागि समय दिने भएकाले पनि धेरै म्युजिक भिडियो तयार भएको शाहको भनाइ छ ।

पछिल्लो सात दिनमा मात्रै कलाकार पल शाह अभिनित ७ वटा म्युजिक भिडियो सार्वजनिक भए । यसको अर्थ नेपालमा हरेक दिन आधा दर्जन बढी म्युजिक भिडियो तयार हुन्छन् र त्यतिकै मात्रामा सार्वजनिक हुन्छन् । यसले गीतसंगीत बजारलाई त चलायमान बनाएकै छ, धेर थोर फिल्म बजारमा आश्रीत कलाकार तथा प्राविधिकहरूको पनि चुल्हो बाल्न सहयोग पुगेको छ । कलाकार तथा प्राविधिकहरू स्वरोजगार हुँदा त्यसको छायाँ प्रभाव स्वरुप अन्य व्यक्ति तथा क्षेत्र पनि चलायमान हुने निश्चित देखिन्छ ।

नेपालमा हरेक दिन आधा दर्जन बढी म्युजिक भिडियो तयार हुन्छन् र त्यतिकै मात्रामा सार्वजनिक हुन्छन् ।

यसरी नेपाली मनोरञ्जन बजारमा म्युजिक भिडियोको बहारै आएपनि भिडियोबाट बजारले पूर्णतः नाफा आर्जन गरेको छ वा, छैन ? त्यो भने खोजको विषय बनेको छ । एउटा म्युजिक भिडियो तयार गर्न कति खर्च लाग्छ, हामी अनुमान गर्न सक्छौं कि, एकलाख, दुई लाख या तीन लाख । तर, यति सस्तो पनि छैन कि हामी अनुमान लगाउँन सकौं । यस विषमा गायक महेश काफ्ले भन्छन्, ‘मेरो आफ्नो अनुभव भन्दा पनि समग्र बजारको अवस्था हेर्दा ५ लाखको हाराहारीमा एउटा भिडियो सार्वजनिकका लागि तयार हुन्छ ।’ काफ्ले थप्छन्, म्युजिक भिडियोका लागि १ लाखदेखि १ लाख ५० हजारसम्म पारिश्रमिक लिने कलाकारहरू समेत हुनुहुन्छ, त्यो भन्दा अघि, गीत तयार गर्न पनि उस्तै खर्च लाग्छ, त्यसैले म्युजिक भिडियोको खर्च बढ्दो छ ।

यति ठूलो बजेटमा तयार म्युजिक भिडियोले लगानी चाहिं सुरक्षित गर्छन् त ? यो प्रश्न भने अधिकांश म्युजिक भिडियो निर्माण गर्नेहरूका लागि गहन बन्दै गएको छ । गायक महेश काफ्ले वा निर्देशक टेकेन्द्र शाह मात्र नभएर अधिकांशको बुझाई छ कि, नेपाली म्युजिक भिडियो रहर र लहडकै भरमा ९० प्रतिशतसम्म बन्ने गरेका छन् र लगानी सुरक्षाको विषय पछि परेको छ । बाँकी १० प्रतिशतले व्यवसायिक आधार खोज्ने गरेका छन् । तिनीहरू डिजिटल भ्युजबाट र विज्ञापन दाताहरूको आडमा चलिरहेका छन् ।

यसरी रहर, लहड अनि, रेमिट्यान्सका भरमा चलेको म्युजिक भिडियो बजारले भाइरस प्रभावका करण कोमामा पुगेको फिल्म उद्योगका केही प्रतिशत कलाकारलाईं बचाएपनि पूर्णतः न्याय भने दिन नसक्ने भनाई छ, कलाकार विपिन कार्कीको । अर्कातर्फ ठूलो पर्दामा स्टारडम बनाएका कलाकारहरू म्युजिक भिडियोतर्फ आउँदा भिडियो मेकिङ लागत बढेको र नव–कलाकार तथा म्युजिक भिडियोकै क्षेत्रमा आश्रित कलाकारको रोजीरोटी नै खतरामा परेको बताउँछन् नाम नखुलाउने शर्तमा एक म्युजिक भिडियो निर्देशक । ‘बाध्यता छ कि, सर्जकहरूले आफ्नो गीत धेरै दर्शक स्रोतामाझ पुग्छ भनेर भ्युजको लोभमा मागेजति पारिश्रमिक दिएर फिल्म क्षेत्रका कलाकारहरू आफ्नो भिडियोमा राख्न माग गर्छन् । हामी निर्देशकले राख्दिन भन्न त मिलेन, तर विडम्बना यस्तो प्रवृत्तीले नेपाली म्युजिक भिडियो बजार अत्यन्तै महंगीदै गएको छ ।’

यस अर्थमा नेपाली म्युजिक भिडियो बजार महंगो बनिरहँदा कलाकारहरू पनि महंगीदै गएका छन् । तर, डिजिटल बजारमै आश्रित म्युजिक भिडियोबाट प्राप्त आम्दानी भने अत्यन्तै न्युन र अनपेक्षित छ । यो परिणामलाई नियाल्दा नेपाली म्युजिक भिडियो कहिलेसम्म यही गतिमा निर्माण भइरहने हुन् भविष्यले बताउँने नै छ, तर महामारीका बीच सिंगो मनोरञ्जन उद्योगको निर्विकल्प र एउटै मात्र चलायमान आधार भनेको गीत संगीत र म्युजिक भिडियो बनेको छ ।

Logo