केपी ओली सरकारले ल्याएको नागरिकता विधेयकका कारण नेपालले फिजीको बाटो समातेको टिप्पणी गर्न थालिएको छ। बौद्धिक वर्ग के कुरा भन्न थालेको छ भने सन् २००४ मा भारतीय मूलका फिजीका प्रधानमन्त्री महेन्द्रपाल चौधरीलाई जस्तै भारतीय राष्ट्रपतिले कुनै वर्षको गणतन्त्र दिवसको अवसरमा राजेन्द्र महतो र महन्थ ठाकुरलाई प्रवासी भारतीय सम्मान पुरस्कारबाट पुरस्कृत गरे भने अब अचम्म नमाने हुन्छ।
नेपालमा तराईवासी नेताहरूलाई च्यापेर राजनीतिक परिवर्तनको फाइदा उठाई भारतले २०१९ सालदेखि नै नागरिकताको बिषय उठाउने गरेको थियो । भारतीय मूलका मानिसहरूलाई नागरिकता दिलाउन भारतीय राजदूत र विदेशमन्त्रीले नेपालका सरकार प्रमुखलाई भेट्ने र विभिन्न प्रलोभन देखाउने गरेका थिए । राजा वीरेन्द्रको वंशनाश हुनुमा नागरिकता सम्बन्धी मुद्दा नै प्रमुख कारण बनेको कुरामा अहिलेसम्म बौद्धिक नेपाली विश्वस्त छन् ।
हालको केपी ओली सरकारलाई तराईका क्षेत्रीय दल राजपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोसँग मिलापत्र गराई सरकारबाट नागरिकता विधेयक ल्याउन भारत सफल भएको मानिएको छ। यसबाट भारतीय नागरिकलाई नेपालको नागरिकता दिलाउने प्रपञ्च रचिएको स्पष्टै बुझ्न सकिन्छ । स्मरण रहोस् राजेन्द्र महतो भारतीय नागरिक हुन् र उनीसँग सरिता गिरीको जस्तै नेपाल र भारत दुवै देशको नागरिकता छ भन्ने कुरा समाचार माध्यमहरूमा बारम्बार आउने गरेको छ।
नागरिकता विधेयकका कारण नेपाल कसरी फिजीको जस्तो अवस्थामा पुग्न सक्छ भन्ने कुरा थाहा पाउन फिजी कसरी भारतीय चङ्गुलमा फस्यो भन्ने कुरा थाहा पाउनु आवश्यक छ।
फिजी दक्षिणी प्रशान्त महासागरको एउटा द्वीपीय देश हो । त्यसको आधिकारिक नाम फिजी द्वीप समूह गणराज्य हो । तीन सय २२ वटा द्वीप समूह मिलेर बनेको यो देशको कुल क्षेत्रफल १८ हजार ३ सय वर्ग किलोमिटर रहेको छ । फिजी नेपालभन्दा ८ गुणा सानो छ र जनसङ्ख्या भने नेपालको भन्दा ३३ गुणा कम हो । फिजीका मूल निवासी पोलिनेसिया र मेलासिआई हुन् ।
लामो समय बेलायतको उपनिवेश रहेको फिजीमा सन् १८८९ देखि १९१६ सम्ममा मजदुरका रूपमा करिब ६१ हजार भारतीय फिजीमा पसे। उनीहरुलाई उखु खेतीमा लगाइयो तर भारतीयको फिजीमा पुग्ने क्रम रोकिएन। सन् १९२० देखि भारतीयको सङ्ख्या फिजीमा ह्वात्तै बढ्यो । सन् १९७७ देखि भारतको दबाबमा भारतीय मूलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो । सन् १९८७ देखि १९९० सम्म फिजी संविधानविहीन अवस्थामा रह्यो । यो संवैधानिक सङ्कटको फाइदा उठाएर भारतले उक्त समय फिजीमा रहेका सबै भारतीय मूलका नागरिकलाई नागरिकता दिनुपर्ने झन् बढी दबाब दियो । फलतः फिजीमा जन्मेका जुनसुकै भारतीय नागरिकले नागरिकता पाउन सक्ने व्यवस्था फिजीको संविधानको धारा ३२० मा उल्लेख गरियो ।
लामो समय बेलायतको उपनिवेश रहेको फिजीमा सन् १८८९ देखि १९१६ सम्ममा मजदुरका रूपमा करिब ६१ हजार भारतीय फिजीमा पसे। उनीहरुलाई उखु खेतीमा लगाइयो तर भारतीयको फिजीमा पुग्ने क्रम रोकिएन।
सन् १९९६ सम्ममा फिजीमा कूल जनसङ्ख्याको एक तिहाइ जनसङ्ख्या भारतीयको रह्यो । नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्रपाल चौधरी चुनावी मैदानमा उत्रिए । ७१ सिट रहेको फिजीको संसदीय चुनावमा ३७ सिटमा जितेर भारतीय नागरिक महेन्द्रपाल चौधरी फिजीको प्रधानमन्त्री पदमा विजयी भए । फिजीमा भारतीयको दबदबा कायम राखेको भनेर नै भारतले महेन्द्रपाल चौधरीलाई सम्मान गरेको थियो ।
अहिलेसम्म फिजीको राजनीतिमा भारतीयको हालीमुहाली देखिन्छ। सन् १९८७ मा त्यहाँको सरकार विरुद्ध भारतीय फिजियनले गरेको आन्दोलनलाई भारतले सघाएको थियो भने सन् २००० मा भारतीय मूलका महेन्द्रपाल चौधरी विरुद्ध भएको कुको भारतले विरोध गरेको थियो। फिजी सरकार विरुद्ध प्रतिबन्ध लगाउन उसले लवी समेत गरेको थियो। वन, खनिज र मत्स्य संसाधन रहेको फिजीको अर्थ व्यवस्थामा भारतको पकड रहेको छ। अर्थतन्त्रको प्रमुख हिस्सा रहेको उखु र तयारी पोसाकमा पनि भारतीय मूलका फिजीवासीको हालीमुहाली छ। सन् १९७० मा बेलायती उपनिवेषबाट स्वतन्त्र भएको फिजी सन् १९८७ मा गणतान्त्रिक मुलुक घोषणा भएको थियो । त्यहाँ अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन।
टापु नै टापुको आभूषणका बीच प्राकृतिक छटाहरूले कुँदिएको सुन्दर देश फिजीमा सन् १८७९ देखि १९१६ सम्म भारतबाट पुगेका भारतीयहरू ८७ वटा जहाजमा गएका थिए । नेपालबाट भारतमा काम खोज्दै जाने समूह पनि तिनै भारतीयकै समूहमा मिसिएर हजारौंको संख्यामा फिजी पुगेको थियो । त्यसदेशमा अहिले ३७ प्रतिशत जनसङ्ख्याले हिन्दी बोल्छन्, बाँकीले काइभित र अंग्रेजी भाषा बोल्छन्।
भारतीयहरूले सजिलै नेपाली नागरिकता पाए भने जनसङ्ख्याका आधारमा संसदको सिट निर्धारण गरिएको नेपालमा तराई क्षेत्रबाट बढी सिटमा भारतीयहरू संसदमा पुग्नेछन् । त्यसपछि नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री आदि हुनबाट भारतीयहरूलाई कसैले रोक्न सक्दैन । वंशजको नागरिकता पाएपछि भारतीयहरू नेपालको प्रधानन्यायाधीश, प्रधानसेनापति जस्ता पदमा पनि पुग्नेछन् । त्यस अवस्थामा अल्पसङ्ख्यक नेपालीले अहिले फिजीका आदिवासी काइभितको जस्तो नियति भोग्नुपर्नेछ।
(लेखक: काभ्रेबाट प्रकाशित मध्यमार्ग साप्ताहिकका प्रधान सम्पादक हुन्।)































प्रतिक्रिया