संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन्।
मन्त्री ढकालले नेकपा (एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेको बताएका हुन्। दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उनले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाए।
मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए। देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए। उनले भने, ‘धारा ७६ (५)को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन्। बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ। यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ।त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो।’
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए। सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउन अगाडि बढ्ने पनि उनले बताए।































प्रतिक्रिया