वीरगंज र झापामा गरि थप आठ संक्रमितको मृत्यु भएको छ।
गएको २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए। उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलौ निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताए।
त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
२४ घण्टाभित्र तीनको मृत्यु
यता पछिल्लो २४ घण्टाभित्रैमा झापामा तीन सङ्क्रमितको ज्यान गएको छ। दमकस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो।
अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसअघि बिहीबार दिउँसो साढे ४ बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज बिहानसम्म २५ कोरोना सङ्क्रमित उपचाररत छन्।
गत वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल नौ सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा कूल ७९ सङ्क्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका कोभिड फोकल पर्सन मोतेले बताए।रासस































प्रतिक्रिया