सङ्क्रमितका घरघरमा औषधि र स्वास्थ्यकर्मीसहित बागलुङका जनप्रतिनिधि

सङ्क्रमितका घरघरमा औषधि र स्वास्थ्यकर्मीसहित बागलुङका जनप्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

अहिले जिल्लाका जनप्रतिनिधि कोरोना सङ्क्रमितका घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्न व्यस्त छन्। जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर, काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछाने सङ्क्रमितका घरघरमा स्वास्थ्यकर्मीसहित पुगे। यस्तै बागलुङ नगरभित्रका कोरोना सङ्क्रमितलाई हौसला तथा औषधि वितरण गर्दै बागलुङ नगरपालिकाका प्रमुख तथा नगरपालिकाको स्वास्थ्य शाखाको टोली घरघरमा पुगिरहेका छन्। 

नगरपालिकाको टोलीले पालिकाभित्र रहेका होमआइसोलेसनमा रहेका बिरामीको स्वास्थ्य अवस्था मात्र बुझेका छैनन्, आवश्यक परामर्श पनि दिएका छन्। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल तथा स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाललगायत स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाका विभिन्न वडामा रहेका सक्रिय सङ्क्रमितको घरघरमै पुगी स्वास्थ्य अवस्था बुझ्दै, आवश्यक सिटामोल, जीवनजल, भिटामिनलगायत औषधि वितरण गर्दै तथा आवश्यक परामर्श दिइरहेका छन्।

भेटमा स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, होमआइसोलेशनमा बस्दा अपनाउनु पर्ने विभिन्न विधिका बारेमा जानकारी गराउने, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा खानेलगायत स्वास्थ्य मापदण्डका बारेमा जानकारी दिइरहेका छन्। नगरपालिकाका प्रमुख जनकराज पौडेल भन्छन्, “कोभिड–१९ ले निम्त्याएको तथा निम्त्याउने खतरा भयावह बन्दै गैरहेको छ, तैपनि सामान्य लक्षण हुँदा पनि सङ्क्रमित भइसकेपछि मानिसलाई मानसिकरुपमा असर पर्ने र आत्तिने गर्छन्, यस्तो बेलामा हामी नगरपालिकाको स्वास्थ्यकर्मीसहित घरघरमा पुगेका छौँ।” यसो गर्दा सङ्क्रमित तथा सङ्क्रमितका परिवारलाई थोरै भए पनि मानसिक तनाव कम हुने भन्दै अभियान थालिएको हो, नगर स्वास्थ्य शाखाले जनाएको छ।  

पालिकाभित्र रहेको स्वास्थ्य चौकीले कसरी काम गरिरहेको र त्यसको अनुगमन पनि गर्नका निम्ति उक्त अभियान शुरु गरेको उनले बताए। बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल सङ्क्रमितलाई मानसिक रुपमा तन्दुरुस्त गराउन सकेमा रोक छिटोभन्दा छिटो निको हुने बताउँछन्। “कोभिड–१९ को महामारी रोकथाम, व्यवस्थापन र नियन्त्रणको सिलसिलामा नगरप्रमुखको नेतृत्वमा नगर क्षेत्रभित्र रहेको कोरोना सङ्क्रमितको घरघरमा पुगेर सक्रिय सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दै औषधि पनि दिएको छौँ”, उनले भने “घरघरमा पुगी स्वास्थ्य अवस्था बुझ्दा सङ्क्रमितहरुको आत्मबल बढेको पाएका छौँ।”

सङ्क्रमित तथा सङ्क्रमितको परिवारले यस अभियानलाई सकारात्मक हिसाबले लिएको प्रतिक्रिया दिएका छन्। क्वारेन्टाइनमा बस्नभन्दा परिवारको रेखदेखमा बस्नाले रोगलाई छिटो परास्त गर्न सकिने कोरोना सङ्क्रमण पुष्टि भएर निको भएकाहरुको भनाइ छ। नगरप्रमुख तथा नगर स्वास्थ्य शाखाको टोली घरघरमा गएर कोरोना सङ्क्रमितलाई भेट्दा आफूहरुलाई ढुक्क भएको सङ्क्रमित तथा सङ्क्रमितका परिवारले बताएका छन्।रासस

Skip This
Skip This
Logo