भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित, दिल्लीमा सङ्क्रमण दर ०.६८ प्रतिशत

भारतमा अझै पनि दैनिक सवा लाख व्यक्ति सङ्क्रमित, दिल्लीमा सङ्क्रमण दर ०.६८ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अझै पनि एक लाखभन्दा बढी नै रहेको छ। पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहे पनि एक लाखभन्दा बढी नै रहेको पाइएको हो । 

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख २० हजार ५२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिन शुक्रवारको भन्दा ११ हजार ८३५ जना कम भएको तथ्याङ्कमा देखिएको छ। 

भारतमा शुक्रबार एक लाख ३२ हजार ३६४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म दुइ करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन्।  

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १५ लाख ५५ हजार २४८ रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण तीन हजार ३८० जनाको मृत्यु भएको छ। योसँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या तीन लाख ४४ हजार ८२ पुगेको छ। 

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि गत २४ घण्टामा एक लाख ९७ हजार ४९४ जना सङ्क्रमणमुक्त भएका छन् । 

अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ६७ लाख ९५ लाख ५४९ पुगेको अधिकारीहरुले जनाएका छन्। कुल सङ्क्रमितमध्ये ९३ प्रतिशत सङ्क्रमणमुक्त भएको पाइएको छ । 

दिल्लीमा कोभिड सङ्क्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता सङ्क्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ। दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति सङ्क्रमित भएका र ५० सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ सङ्क्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उहाँ निकट अधिकारीहरूले शनिबार बताएका छन्।

यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ। सम्मेलनमा आगामी दिनमा कोभिड–१९ सङ्क्रमणका कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोनाभाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिनुहुने बताइएको छ। 

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

 सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो। दिल्लीमा दोस्रो लहरको सङ्क्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो।रासस

Logo