नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी पुनः दोहोर्याएका छन् । उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताउँदै यस्तो विषय पुनः दोहोर्याएका हुन्। जनता समाजवादी पार्टीको कार्यालयमा शनिबार आयोजित स्वागत कार्यक्रममा बोल्दै महतोले यस्तो बताएका हुन्।
आफ्नो पार्टी कांग्रेस र कम्युनिष्ट जस्तो पनि नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् ।
यसअघि महतोले शुक्रबार देश र जनताका लागि सपथ लिएको आधाघन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी अभिव्यक्ति दिएका थिए।
तर, महतोको यो भनाइप्रति शनिबार दिनभरी आलोचना भयो। उनको विखण्डनकारी वक्तब्यबाजीले देशलाई पुनः द्वन्द्वतर्फ लैजाने भन्दै विभिन्न दल तथा नेताले विरोध जनाएका छन् भने नागरिकस्तरमा पनि यसको चर्को विरोध भएको छ।
यस सम्बन्धमा सामाजिक सञ्जालमार्फत एमाले उपाध्यक्ष वामदेव गौतमले आपत्ती जनाउनुका साथै दुःख व्यक्त गरेका छन्। सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चार्यचकित भएको बताएका छन्।
उनले नेपालको संविधानको धारा (३) मा स्पष्टरुपमा नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो। त्यस्तै संविधानको धारा (४) मा स्पष्ट भनिएको छ कि, अनेकौं विशेषतासहित नेपाल राज्य हो। यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटामात्र राज्य छ त्यो नेपाल, भन्दै गौतमले महतोको भनाइको विरोध जनाएका छन्।
यस्तै एमालेकै योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले पनि आपत्ति जनाएका छन्। नेता भट्टराईले स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका हुन् । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव पनि दिएका छन् ।
यस्तै नेता विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले “बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल भएको र जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधानविरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन्। माधव नेपाल पक्षका १८ जनसंगठनले उपप्रधानमन्त्रीले दिएको संविधानविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिएर माफी माग्न पनि संयुक्त विज्ञप्तिमार्फत अपिल गरेको छ।
यसैबीच आजै नेकपा एमाले माधव नेपाल समूहको अनेरास्ववियूले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री महतोको पुत्ला जलाएका छन्। महतोका विवादित अभिव्यक्तिका विरोधमा माधव नेपालनिकट विद्यार्थी समूह सडकमा ओर्लिएको हो। उनीहरुले महतोको पुत्ला जलाउनुको साथै उनलाई राष्ट्रघाती भन्दै नाराबाजीसमेत लगाएका थिए।





























प्रतिक्रिया