काठमाडौं ।
नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा.बाबुराम मरासिनीले बताएका छन् । पछिल्ला केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीले बताए। कुराकानी गर्दै भाइरोलोजिष्ट डा. मरासिनीले समग्र देशको संक्रमणको स्थिति भन्दा पनि काठमाडौं उपत्यकाको संक्रमण चौथो चरणमा प्रवेश गरेको बताए।
काठमाडौं उपत्यकाभित्रका सबै समुदायभित्र, घरभित्र, कार्यालय लगायतका सबै क्षेत्रमा संक्रमण फैलिइसकेकोले स्थिति नियन्त्रण बाहिर गइसकेको उनले बताए । सरकारले सही नीति लिन नसक्दा संक्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उनले स्पस्ट पारे ।
नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवतजावतलाई व्यवस्थापन नगर्दा संक्रमण फैलिएको उनले बताए। सरकारले सीमा नाकामा आउने मानिसहरुलाई अव्यवहारीक व्यवहार गरेकाले पनि संक्रमण समुदायमा फैलिएको टिप्पणी उनले गरे । उनले कोरोना संक्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको मरासिनीले बताए ।
त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताए। त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब संकलन गरेपछि ९/१० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा संक्रमण फैलिन सहयोग पुर्याएको उनको भनाई छ ।
पछिल्लो तीन दिन यताको संक्रमणको स्थिति हेर्ने हो भने डा. मरासिनीले भनेको कुरालाई करिब पुष्टि गरेको छ । गत शनिबार नेपालमा एकै दिन ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये २ हजार ६ सय ७२ जना संक्रमित काठमाडौं उपत्यकामा फेला परेका थिए । आइतबार २ हजार ७१ जना मानिसमा संक्रमण पुष्टि भएको थियो ।
त्यसमध्ये काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना रहेका छन् । सोमबार नेपालमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा २ हजार २ सय ८३ जना संक्रमित पुुष्टि भएका छन् । सोमबार नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । यसरी दिनप्रतिदिन संक्रमणको दर बढ्दै जानुले संक्रमण समुदाय स्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको छ ।





























प्रतिक्रिया