रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक-भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ।
बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ।
खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र खोप लगाएकाहरू गम्भीर विरामी पनि नभएको उनीहरूको दावी छ। बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन्।
स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ।
“हाम्रो अध्ययनले कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी रहेको देखिएको छ,” बहराइनका स्वास्थ्य मन्त्री फेक्वा साइद अल सालेहले भने।
अधिराज्यभरी रहेका सबै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उनले बताए। कोरोना भाइरसविरुद्ध स्पुतनीक भी खोप प्रयोग गर्ने देशहरु मध्ये बहराइन ६७औँ देश भएको पनि रुसी अधिकारीहरुले जनाएका छन्।





























प्रतिक्रिया