सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ।
कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको छ।
यस वर्ष जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले भारी वर्षा हुने पूर्वानुमान गरेकोले त्यसको प्रतिकार्यको अभ्यास भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। वर्षेनी बाढी र डुबानले व्योहोर्नुपर्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न अभ्यासले सहयोग गर्नेछ।
हरेक वर्ष बाँके, फुलजोर, लखनदेही र बाग्मती खोलामा आउने बाढीका कारण जिल्लाका दक्षिणी भाग जलमग्न भई र मानवीय क्षति हुने गरेको छ।
दक्षिणमा रहेको भारतीय बाँध र राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेलमार्गको बाँधका कारण जिल्लाका दर्जनौँ गाउँ डुबानमा पर्ने गरेका छन्। अभ्यास कार्यक्रमको थालनीमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बाढी आउने सम्भावित खतरालाई ध्यानमा राख्दै नदीको बाँध मर्मत सम्भारको कार्य तीब्र रुपमा भइरहेको जानकारी दिए।
पानीको निकास छिमेकी भारततिर भएकोले भारतले निर्माण गरेको बाँधमा पनि निकासको लागि लगाइएको सुलिस गेट नखोल्दा अप्राकृतिक रुपमा जिल्लाका जनतालाई त्रास हुने गरेको छ। प्रमुख जिल्ला अधिकारी तामाङले भारतसँग पनि निकासको विषयमा छलफल गर्ने बताउँदै बाढीबाट हुने क्षतिबाट जोगाउन स्थानीय प्रशासनले सक्रियरुपमा भूमिका निर्वाह गर्ने बताए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानद्वारा शुरु गरिएको अभ्यासमा बाढीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोट, मोटर बोट प्रयोगसम्बन्धी अभ्यास गर्ने तालीम गरिएको हो। बाढीका बेला आवश्यक पर्ने सामग्रीहरु प्रयोग गर्दै संयुक्त अभ्यास सुरु गरिएको सशस्त्र प्रहरी बल सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए।
प्राथमिक उपचारको लागि नेपाल रेडक्रस सोसाइटीको टोली उपस्थित भएका छन् भने अस्पताल लैजान लागि एम्बुलेन्सको समेत व्यवस्था गरिएको छ।
कार्यक्रममा बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, प्रजिअ तामाङ, प्रहरीका प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंह, प्रदेशका आठै जिल्लाका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका गुल्म पति, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतको उपस्थिति छ। रासस





























प्रतिक्रिया