दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

केन्द्रबिन्दु
0
Shares

यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ। आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए। 

उनले भने, “ती घरमध्ये नौ घरका स्थानीयवासीले घरमा रहेका सामान झिक्न पाए पनि पाँच घरका स्थानीयवासी भन्छन्, “घरसहित घरमा भएको सबै सामान पनि बगाएको छ।” एक सय ६ घर रहेको यहाँ ५० घर उच्च जोखिममा रहेको वडाध्यक्ष घलेको भनाइ छ। पक्की घरसमेत चार वटाको पिल्लर नै उक्काइसकेको र सो बस्तीमा पानीले हानिरहेको छ। 

त्यस्तै, पाँच÷छ वटा बिजुलीको हाइटेन्शन खम्बा पनि ढालेको वडाध्यक्ष घलेले बताए। ती तारले झोलुङ्गे पुलमा अवरुद्ध बनाएको छ। स्थानीयवासी यहाँबाट पालिकाको केन्द्र र जिल्लाका सदरमुकाम जाने बाटो सबै क्षतविक्षत भएकाले आउन र जान पनि नसक्ने अवस्थामा रहेको बताइएको छ। 

स्थानीयवासीलाई सोही बजारको अलि उच्च रहेका १०/१२ घरमा र फलेनी माविमा राखिएको छ। कतैबाट राहत सामग्री ल्याउन पनि बाटोले समस्या बनाएकाले यहाँका स्थानीयवासी समस्यामा छन्। बिजुली बत्तीसमेत छैन। खोला बढिरहेको छ अझै हट्ने सम्भावना छैन। 

“विगतमा पनि खोलामा बाढी नआएको होइन तर यसरी आएको पहिलोचोटि नै हो”, वडाध्यक्षले भने। राहतका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको र राहत पठाएमा पनि बाटो नभएकाले समस्या हुने वडाध्यक्षले बताए।

Logo