सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको पहिरो र बाढीमा परी १६ जना मानिस बेपत्ता भएका छन्। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले उनीहरूको खोजी कार्य भइरहेको बताए।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल नेतृत्वमा रहेको सुरक्षा निकायका टोली उद्धार कार्यमा रहेको छ। दुई जना मृत फेला परेका छन्। १६ घर पूर्णरूपमा क्षति भएको, दुईवटा मोटरेबल पुल र ६ वटा झोलुङ्गे पुलमा क्षति भएको विवरण पनि प्राप्त भएको गृह प्रवक्ता दाहालले बताए।
उनले उद्धार टोलीले बाढीले गर्दा फसेका ४६ जनाको उद्धार गरिएको बताए। त्यसमध्ये चार जनालाई घरको छतबाट नेपाली सेनाको विशेष फौजको हेलिकोप्टबाट उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये दुई जना नेपाली र दुई भारतीय हुन्।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले उद्धार गरिएका नेपालीमा ५५ वर्षीय राजु राई र ३३ वर्षीय छिरिङ शेर्पा रहेको बताए। भारतीय नागरिकको भने पहिचान खुल्न बाँकी रहेको छ। उद्धार गरिएकामा ६ जना भने घाइते रहेका छन्। उनीहरूलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि बिएण्डबी हस्पिटलमा ल्याइएको छ।
यस्तै, बाढी प्रभावित क्षेत्रका नागरिकका लागि गृह मन्त्रालयले तत्कालका लागि राहत सामग्री पठाएको छ। गृह प्रवक्ता दाहालले २५० वटा त्रिपाल, १०० वटा टेण्ट र ५० वटा स्लिपिङ ब्याग पठाइएको बताए।





























प्रतिक्रिया