युरोकपमा युक्रेनको पहिलो जित

युरोकपमा युक्रेनको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

युरोकप फुटबलको १६ औं संस्करणअन्तर्गत आजको खेलमा युक्रेनले पहिलो जित दर्ता गरेको छ । रोमानियाको नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले पहिलो जित दर्ता गरेको हो ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । यस जितसँगै समूह ‘सी’ मा रहेको युक्रेनले २ खेलमा ३ अंक जोडेको छ । युक्रेन समूहको तेस्रो स्थानमा रहेको छ ।

युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल गरे । यस्तै नर्थ म्यासेडोनियाका एजान एलिओस्कीले सान्तावना एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा एलिओस्कीले एक गोल फर्काएपनि युक्रेन २–१ ले विजयी भयो । एलिओस्कीले प्रहार गरेको पेनाल्टी  युक्रेनका गोलकिपर जर्जले रोकेका थिए । तर, त्यही पेनाल्टीको रिबाउन्डमा उनले गोल गरेका थिए ।

यस्तै खेलको ८४ औं मिनेटमा युक्रेनका रुस्लान मालिनोभ्सकीले पेनाल्टीमा गोल गर्न सकेनन्  । उनको प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए ।

नर्थ म्यासेडोनियाको यो लगातार दोस्रो हार हो । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । म्यासेडोनिया पुछारमा रहेको छ ।

Logo