डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा बेल्जियमले लगातार दोस्रो जीत निकालेको छ। बिहीबार राति कोपनहेगनमा भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जीत निकालेको हो।

जीतसँगै बेल्जियम अन्तिम १६ मा समेत प्रवेश गरेको छ। बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम बनेको हो।

बेल्जियमलाई जीत दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरे। डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली डेनमार्कले बनाएको थियो। खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा बेल्जियम खेलमा फर्कियो।

खेलको ५५ औं मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १-१ गोलको बराबरीमा फर्काए थिए। त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २-१ को जीत दिलाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन्।

ब्रुएन खेलको ४६ औं मिनेटमा मेर्टेन्सको स्थानमा मैदान प्रवेश गरेका थिए। जीतसँगै समूह बी मा रहेको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ। बेल्जियम शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो।

डेनमार्कको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। अंकविहीन रहँदै डेनमार्क समूहको पुछारमा रहेको छ।

Logo