युरोकपमा लिगचरणको दोस्रो खेलः इटालीको आत्मविश्वासदेखि पोर्चुगलको निराशासम्म

युरोकपमा लिगचरणको दोस्रो खेलः इटालीको आत्मविश्वासदेखि पोर्चुगलको निराशासम्म

केन्द्रबिन्दु
0
Shares

यूरोपका विभिन्न शहरहरुमा जारी युरोकप २०२० ले थप रोमाञ्चकता प्रदान गरिरहेको छ। लिग चरणको दोस्रो राउण्डको समाप्तिमा केही ठूला मुलुकहरुले आफ्नो खेललाई परिस्कृत गर्दै लगिरहेका छन् भने केही पूर्व च्याम्पियन मुलुकहरुको खेल अन्यौलग्रस्त देखिएको छ। 

दोस्रो चरणको खेलमा इटालीले आफूलाई अब्बल सावित गरेको छ। यस्तै, जर्मनीले सम्हालिएको प्रदर्शन गरेको छ भने स्पेनले थप निराशा दिएको छ। विश्वकप विजेता फ्रान्सको खेल भने अन्यौलग्रस्त बन्दै गइरहेको छ। दोस्रोचरणमा आइपुग्दा पोर्चुगल संकटपूर्ण अवस्थाबाट गुज्रन पुगेको छ। 

रोवर्टो मानचिनीको प्रशिक्षणमा रहेको इटाली नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । आफ्नो पहिलो खेलमा टर्कीलाई तीन–शून्यले पराजित गरेको इटालीले दोस्रो खेलमा स्वीजरल्याण्डलाई त्यति नै स्कोरले पछि पार्यो।  

उत्कृष्ट फर्ममा रहेको इटालीले सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलमा भोगेको पीडालाई यतिबेला मैदानमा राम्रो फुटबल खेलेर बिर्साउने प्रयास गरिरहेको छ। सन् २०१८ को विश्वकपमा इटाली छानिएको थिएन र त्यसैका कारण अन्तर्राष्ट्रिय फुटबलमा उसको शाख सकिएको रुपमा हेरिएको थियो। 

तर त्यसयता इटालीले मैदानमा अचम्मको खेल पस्किरहेको छ। पछिल्लो बीस खेलमा इटाली पराजित भएको छैन भने पछिल्लो दश खेलमा एक गोल पनि खाएको छैन। 

यहि प्रदर्शनका आधारमा इटाली यसपटकको युरोकप जित्ने दावेदार राष्ट्र हो। यतिको एकरुपताको प्रदर्शन कुनै पनि युरोपेली टोलीले गर्न सकेका छैनन्। अब लिग चरणको आफ्नो अन्तिम खेलमा इटालीले वेल्सको सामना गर्दैछ। 

युरोकपमै एकरुपताको खेल प्रदर्शन गरिरहेको अर्को राष्ट्र हो, नेदरल्याण्ड्स। उसले आफ्नो दुबै खेल जितेको छ र नकआउट राउण्डमा स्थान बनाइसकेको छ। बेल्जियमले पनि नकआउट चरणमा स्थान बनाउने क्रममा रुस र डेनमार्कलाई पराजित गर्दै ६ अंक हासिल गरिसकेको छ । स्टार मिडफिल्डर केभिन डी ब्रुएन चोटपछि मैदान फर्किएका कारण पनि बेल्जियम उत्साहित छ। 

दोस्रो चरणको खेलमा इटालीले आफूलाई अब्बल सावित गरेको छ। यस्तै, जर्मनीले सम्हालिएको प्रदर्शन गरेको छ भने स्पेनले थप निराशा दिएको छ। विश्वकप विजेता फ्रान्सको खेल भने अन्यौलग्रस्त बन्दै गइरहेको छ। दोस्रोचरणमा आइपुग्दा पोर्चुगल संकटपूर्ण अवस्थाबाट गुज्रन पुगेको छ। 

जर्मनीले पनि आफूलाई प्रतियोगितामा कम आंक्न नहुने छनक दिइसकेको छ। गएराति जर्मन टोलीले खेलमा पछि परेको स्थिती उल्टाउदै पोर्चुगललाई चार–दुई गोलले पराजित गर्यो। 

समूह एफमा रहेका यी टोलीको तीन–तीन अंक छ भने फ्रान्सको चार र हंगेरीको एक अंक छ । ग्रुप अफ डेथ मानिएको यो समूहबाट दुई खेलपछि पनि नकआउट चरणमा प्रवेश गर्ने टोलीको टुंगो लागेको छैन। 

यही समुहमा रहेको विश्वकप विजेता टोली फ्रान्सले सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । जर्मनीविरुद्ध आफ्नो पहिलो खेल आत्मघाती गोलका कारण जितेको फ्रान्सले हिजो साँझ हंगेरीसँग एक–एक गोलपछि अंक बाँड्न पुगेको छ । स्टार खेलाडीहरुले भरिएको फ्रान्सले मैदानभित्र भने उचित तालमेल मिलाउन सकेको देखिंदैन। 

यता, पूर्व विजेता स्पेन पहिलो चरणबाटै बाहिरिने संघारमा पुगेको छ। समुह ई अन्तर्गत दुई खेल खेलेको स्पेनले दुबै खेल बराबरीमा टुंग्याएको छ। अब नकआउट चरणमा पुग्न स्पेनलाई स्लोभाकियाविरुद्धको खेलमा स्पष्ट तीन अंक हात पार्नै पर्छ। स्पेनले आफ्नो पहिलो खेलमा स्वीडेनसँग र दोस्रो खेलमा पोल्याण्डसँग बराबरी खेलेको थियो। 

यसपटक स्पेन आफ्ना अनुभवी कप्तान तथा डिफेण्डर सर्जियो रोमोसबिना मैदानमा उत्रिएको छ । क्लब फुटबलमा राम्रो खेल खेलिरहेका केही युवा खेलाडीलाई पनि प्रशिक्षक लुइस एनरिकेले मौका दिइरहेका छैनन् । 

सबैको अनुमान विपरित यसपटक चेक रिपब्लिकले निकै राम्रो खेल खेलिरहेको छ । चेक टोलीले दुई खेलमध्ये एकमा जीत र एकमा बराबरी खेल्दै चार अंकका साथ समूह डी को पहिलो स्थानमा छ। 

यही समूहमा इंग्ल्याण्डले उत्साहजनक खेल देखाउन सकेको छैन । आफ्ना दुबै खेल घरेलु मैदान वेम्लीमा खेलेको इंग्ल्याण्डले क्रोएशियालाई पराजित गरेपनि स्कटल्याण्डसँग निराशापूर्ण गोलरहित बराबरी खेलेको थियो। सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियाले पनि निराशाजनक प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिने संघारमा छ। 

अब आइतवार रातिबाट युरोकपको लिग चरणमा तेस्रो राउण्डका खेलहरु हुँदैछन् । लिग चरणको अन्तिम खेलहरुबाट कुन टोली नकआउटमा प्रवेश गर्ने र को घर फर्किने भन्ने टुंगो लाग्नेछ।

Skip This
Skip This
Logo