काठमाडौं ।
नेपालमा पछिल्ला दिनहरुमा उच्च पदस्थ व्यक्तिहरुमा पनि कोरोना संक्रमण देखिने क्रम बढेको छ । शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि भएको थियो । आज सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना पुष्टि भएको छ । यो सँगै सरकारका २ मन्त्रीमा कोरोना लागेको छ ।
यस अघि प्रदेशका केही मन्त्री, सांसद र केन्द्रका सांसदहरुमा पनि कोरोना देखिएको थियो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका ३ सल्लाहकार र स्वकिय सचिवलाई समेत कोरोना पुष्टि भइसकेको छ । काँग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसी, विनोद चौधरी, शशांक कोइरालालाई पनि कोरोना पुष्टि भइसकेको छ ।
नेकपा सचेतक शान्ता चौधरी र नेविसंघका अध्यक्ष राजीव ढुंगाना, कलाकार हरिवंश आचार्य दम्पतिमा पनि कोरोना पुष्टि भएको छ । यसरी कोरोना संक्रमण भएका मध्ये केहीलाई निको पनि भइसकेको छ ।
पछिल्ला दिनहरुमा देशभर कोरोना संक्रमण दर उच्च रुपमा बढेको छ । आज सम्मको तथ्यांक अनुसारनेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । आज २ हजार ७१ जना थपिएका छन् ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५५२ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।
आजको पिसिआर परीक्षण १२ हजार ४२७ रहेको छ । आज ३१ हजार ३१५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज १ हजार ४१६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार १४५ , भक्तपुरमा ११० र ललितपुरमा १६१ जना थपिएका हुन् ।
यससँगै, काठमाडौंमा ३३ हजार ७४२, ललितपुरमा ४ हजार ७१४ र भक्तपुरमा ३ हजार ३६२ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४१ हजार ८०८ पुगेको छ ।





























प्रतिक्रिया