नेपाली कलाकारको युट्युव मोह, टाइमपास कि डलरको लोभ ?(भिडियो)

नेपाली कलाकारको युट्युव मोह, टाइमपास कि डलरको लोभ ?(भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सञ्चार जगत्को दरिलो माध्यम मध्ये युट्युव एक सशक्त माध्यम हो । जहाँ, समाचार, मनोरञ्जन, शिक्षा, खेलकुद तथा थुप्रै विधागत विषय अटाएका छन् र यहाँ, दर्शकको पहुँच पनि सहज छ । हरेकले आफ्नो प्रतिभा यही युट्युवको माध्यमबाट सहजै आम जनमानस माझ पुर्याउने ल्याकत राख्छन् । जबकी, अन्य माध्यमहरू रेडियो, पत्रपत्रिका वा टेलिभिजन, फिल्म लगायतमा एउटा निश्चित ढाँचामा बाँधिनु पर्ने बाध्यता युट्युवमा छैन । त्यही कारणले पनि हुनुपर्छ, पछिल्लो समय हरेक मानिस युट्युवसँग नजिक छन् । कतिपय आफैं युट्युब सञ्चालन गरेर आर्थिक उपार्जन गरिरहेका छन् भने कयौं दर्शक यस माध्यमसँग जोडिएर अनेकन सूचना, शिक्षा तथा मनोरञ्जन लिइरहेका छन् । अर्थात, यो माध्यम ‘विन विन’ को सिद्धान्तमा चलिरहेको छ ।

भिडियो :

अनि, यही बाटोमा छ नेपाली मनोरञ्जन बजार र सञ्चार जगत् । विश्वमा थुप्रै डिजिटल ब्रोडकास्टिङ माध्यम नभएका होइनन्, तर नेपालमा युट्युव नै लोकप्रिय छ । यहाँ, नयाँ–नयाँ कन्टेन्ट क्रिएटर, नाम चलेका वा नयाँ सञ्चार माध्यम, गीत–संगीत सर्जक, फिल्म मेकर देखि कलाकार स्वयं पनि युट्युवमै झुम्मिने गरेको पाईन्छ । कसैको रोकतोक र सम्पादकिय अनुगमन बिना पनि सहजै आफ्नो कन्टेन्ट दर्शकमाझ पुर्याउन निकै सहज माध्यम भए पनि युट्युब आफैंलाई भने अझै पनि आधिकारिक सञ्चार माध्यमका रूपमा ग्रहण गरिएको छैन । अथवा, युट्युवलाई अझै पनि सेकेण्डरी ब्रोडकास्टीङ माध्यम मान्ने गरिन्छ ।

जस्तै, कुनै फिल्म हलमा प्रदर्शन भएर युट्युवमा राखेमा प्रशंसा गर्ने, तर युट्युवबाटै प्रदर्शन गरे नाक खुम्च्याउने, अथवा कुनै टक शो वा सिरिज टेलिभिजनमा प्रशारण भएर युट्युवमा सार्वजनिक गरे त्यसको उच्च मूल्यांकन गरिने र अन्यथा खासै प्रथमिकता नदिने । यी र यस्ता विषय हुँदा हुँदै पनि पछिल्लो समय भने नेपालमा युट्युवको प्रयोग बढ्दो छ ।

कोभिड–१९को विश्वव्यापी प्रभावका बीच त डिजिटल बजारको प्रयोगमा उल्लेख्य बृद्धी भयो । युट्युवबाट एकातिर ‘टाइमपास’ भइरहेको छ भने अर्काेतिर कतिपयले राम्रै आम्दानी पनि गरिरहेका छन् ।

कोभिड–१९को विश्वव्यापी प्रभावका बीच त डिजिटल बजारको प्रयोगमा उल्लेख्य बृद्धी भयो । युट्युवबाट एकातिर ‘टाइमपास’ भइरहेको छ भने अर्काेतिर कतिपयले राम्रै आम्दानी पनि गरिरहेका छन् ।

लकडाउनले आम मानिसलाई घरमै थुनिन बाध्य बनायो । त्यो समय कतिपयले दर्शकको रुपमा रहेर डिजिटल बजार चहारे भने कतिपयले डिजिटल बजारमै भविष्य खोज्ने प्रयास गरे । यो, प्रयास गर्ने माझमा नेपाली कलाकारको लिस्ट पनि लामै देखियो । युट्युव माध्यमलाई सस्तो अर्थात वजनविहिन माध्यम मान्ने गरिए पनि वजन बोकेकै कलाकारले यो माध्यम रोज्न पुग्नुलाई भने नयाँ मानिएको छ ।

कतिपयले त डलर कमाउको ध्याउन्नमा युट्युवलाई नमज्जासँग प्रयोग गरिरहेका छन् जसले गर्दा विकृती नै भित्रिएको छ । यही समूहमा मिसिन पुगेका छन् केही नाम चलेका कलाकर्मीहरु पनि । ‘नेम’, ‘फेम’, अनि ‘फाइनाइन्सियल गेन’ का लागि उनीहरू युट्युवमा केन्द्रित देखिएका छन् । सामाजिक सञ्जाल जस्तै, फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर लगायतमा लाखौं फ्यान फलोवर्स हुँदा हुँदै पनि कलाकार युट्युव केन्द्रित हुनु भनेको चासोको विषय भने पक्कै हो । निरन्तर कलाकारिताको यात्रा चलिरहँदा पनि युट्युवको माध्यम रोज्नु आफैमा प्रश्न हो, सँगै उनीहरूले किन यो माध्यम रोज्न पुगे त ?

प्रियंका कार्की

नेपाली फिल्म बजारमा आफ्नै पहिचान बनाएकी अभिनेत्री हुन् प्रियंका कार्की । तर, यतिबेला उनी आफ्नै युट्युव च्यानल चलाउनमा व्यस्त छिन् । सुरुमा सिरिज तथा लघुफिल्मका लागि युट्युब सुरु गरेकी प्रियंकाले यतिबेला भने नयाँ शो ‘चप चप डायरिज’ मार्फत आफ्नो च्यानल चलायमान बनाएकी छिन् । कोरोनाको प्रवेशसँगै घरमा थुनिएर पट्यारलाग्दो दैनिकीबाट छुट्कारा पाउन आफूले नयाँ शो चलाएको बताउँछिन् । उनले समयको सदुपयोगका लागि ‘एनिबडी क्यान कुक’ ट्यागलाइनमा युट्युबमा ‘चप चप डायरिज’का भिडियो बनाउँदै राख्न थालिन् । यसले उनलाई व्यस्त त बनायो नै सँगै युट्युब बाट दर्शकसँग जोडिन पनि पाइन् । उनको कार्यक्रम दर्शकले पनि मन पराएकै छन् तर, एक सफल कलाकार नै युटुयुवमा व्यस्त हुँदा नेपाली कलाकारिताको स्तर कहाँ पुग्ने हो भन्ने प्रश्न भने खड्किएको छ ।

उनको आफ्नै तर्क पनि छ कि, अन्य युट्युवरबाट कलाकारको सम्मान भएन, अन्तर्वार्ता वा अन्य विषयका बारेमा टाइटलका लागि अनेकन तोड मोड गरियो । यसप्रकारका अनेकन गतिविधीका कारण आफैंले युट्युव खोल्नु परेको प्रियंकाको भनाइ छ । अझ युट्युबमा राखेका टाइटलकै कारण नकारात्मक कमेन्ट आउने तथा त्यसले व्यक्तिगत जीवनमा असर पु¥याएको उनको भनाइ छ । यसर्थमा पछिल्लो समय युट्युबका लागि अन्तर्वार्ता कम दिने गरेको र दर्शकसँग जोडिनका लागि भएपनि युट्युव सञ्चालन गरेको प्रियंकाको तर्क छ । यो तर्क राखिरहँदा उनी स्वयं युट्युबरकै समूहमा मिसिएको पत्तो पाइन् या पाइनन् त्यो भने समयक्रम अनुसार थाहा हुनेछ ।

स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्का पनि पछिल्लो समय चर्चामा छिन् । फिल्म होस्टेल रिटर्न्सबाट करियर सुरु गरेकी स्वस्तिमा, फिल्म बुलबुलमा आइपुग्दा निकै चर्चामा आइन् । सँगै म्युजिक भिडियो र टिभिसीका माध्यमबाट पनि स्वस्तिमा दर्शकसँग जोडिएकै छिन् । तर, उनलाई यतिले मात्र पुगेन, उनी युट्युबमा पनि व्यस्त छिन् । बिहाइन्ड दि सिन (बिटिएस) अर्थात् पर्दा पछाडिको दृष्य राख्ने उद्देश्यले स्वस्तिमाले युट्युब च्यानल खोलेकी थिइन् । तर, लकडाउन र बन्दाबन्दीले कामबिहिन भएपछि स्वस्तिमामा पनि युट्युबकै माध्यमबाट केही देखाउने सोच आएको देखिन्छ । उनले सुरुमा ‘क्यु एन ए’ अथवा प्रश्नोत्तर भिडियो राखिन् । त्यसले युट्युब मनिटाइज भयो, दर्शकले पनि रुचाए । यसले गर्दा उनी युट्युवमा आकर्षित भइन् । अब, पर्दापछाडिको दृष्य सँगसँगै हरेक महिना युट्युवमा सक्रिय रहेर केही न केही नयाँ प्रस्तुती दिने सोचमा छिन् स्वस्तिमा । उनी नेपाली युट्युवको माध्यममा देखिएका विविध विकृतीका बारेमा पनि विशेष ध्यान राख्ने बताउँछिन । यद्यपि, स्वस्तिमा जस्तो सफल कलाकारले युट्युबतर्फ ध्यान दिँदा दर्शकमाझ कस्तो सन्देश जाने हो त्यो भने, खोजको विषय बनेको छ ।

रिमा विश्वकर्मा

अभिनेत्री रिमा विश्वकर्मा पनि नेपाली मनोरञ्जन बजारमा चलेको नाम हो । मनोरञ्जन बजारमा थुप्रैपटक गसिपको पात्र बनिसकेकी रिमा पछिल्लो समय युट्युव केन्द्रित छिन् । सन् २०१६ बाट नै युट्युव च्यानल खोलेर विभिन्न भिडियो सार्वजनिक गर्दै आएकी रिमा लकडाउनपछि भने खुबै सक्रिय छिन् ।

युट्युव च्यानल खोल्नुमा रिमाको पहिलो उद्देश्य भनेको दर्शक स्रोतासँग जोडिनु हो रे । उनीसँग हजारौं फ्यान फलोवर्स त अन्य सामाजिक सञ्जालमा जोडिएकै छन् तर, भ्युज र दर्शक अन्तत्र्रिmयाका कारण अब उनी युट्युवलाई प्राथमिकतामा राखेर अघि बढ्ने सोचमा छिन् । अर्थात् युट्युब मोह रिमामा पसिसकेको छ ।

उनी भन्ने गर्छिन कि, महामारीका बीचमा पनि लकडाउनको सदुपयोग गर्दै युट्युवको साहारामा आम दर्शकसँग जोडिने माध्यम बन्यो । उनले भनेझैं कलाकारिता यात्रामा अब रिमाको अर्को सारथी भनेको युट्युव नै भएको बुझिएको छ । उनले अब आफ्नै च्यानलबाट लघु फिल्म सार्वजनिक गर्ने योजना बुनेकी छिन् । कलाकारिता यात्रासँगै कार्यक्रम सञ्चालिकाका रूपमा नाम कमाएकी रीमाका लागि युट्युब आफैमा राम्रो त माध्यम हो । तथापि, फेसबुक, इन्स्टा लगायत सामाजिक सञ्जालमा लाखौं फ्यान फलोवर्स हुँदा हुँदै युट्युव केन्द्रित हुनुले सारांशमा कन्टेन्ट क्रिएटर अर्थात् नेपाली समाजमा चलेको शब्द ‘युट्युबे’ (युट्युवर) को समूहमा सामेल भएकी छिन् विश्वकर्मा ।

नीता ढुंगाना

नायिका नीता ढुंगानाले पनि आफ्नै युट्युव च्यानल सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नो युट्युव च्यालनमा पहिलो पटक आफ्नै गायन तथा अभिनयमा रहेको भजन सार्वजनिक गरेकी छिन् । अन्य नायिका भन्दा केही प्रोफेसनल हिसाबमा च्यानल सञ्चालनमा ल्याएकी नीताले अबका दिनमा पनि यस्तै राम्रा र सृजनात्मक कामहरू युट्युबमा ल्याउने बताउँदै आएकी छन् । तर, नीताले भिडियो सामग्रीको गुणस्तरमा ध्यान नदिने हो भने उनको पेशागत व्यवसायिकतामा प्रश्न भने पक्कै उठ्ने छ ।

केकी अधिकारी

नायिका केकी अधिकारी जो, कलाकारिताका माध्यमबाट थुप्रै दर्शक तथा स्रोतामाझ प्रिय छिन् । उनले सामाजिक सञ्जाल, फेसबुक, इस्टाग्राम लगायतमा लाखौंको संख्यामा फ्यान फलोवर्स कमाएकी पनि छिन् । तर, उनी युट्युवतर्फ पनि आकर्षित देखिन्छिन् । पछिल्लो समय उनले आफ्नै नामको युट्युव च्यानलमा केही गतिबिधी बढाएकी छिन् ।

व्यक्तिगत रोजाई, इच्छा अनि समयको माग अनुरुप डिजिटल माध्यमको उपयोग गरिनु नयाँ नभएको प्रतिक्रिया दिने केकीले हालसम्म ८ वटा भिडियो आफ्नो च्यानलमा राखीसकेकी छिन् । अबका दिनमा उनको निरन्तरता रहला नरहला त्यो उनकै रोजाइमा भर पर्छ तर, एउटा सम्भावना बोकेको कलाकार अनेकन सामाजिक सञ्जालमा प्रस्तुत भइरहँदा, अथवा युटुवबाटै प्रस्तुत भइरहँदा त्यसप्रति दर्शकको नजर कस्तो हुने हो यो पनि खोजकै विषय भित्र पर्दछ ।

उल्लेखित पात्र मात्र होइन, आफ्नै युट्युब च्यानल नभएका नेपाली कलाकार औँलामा सिमित छन् । अझ भनौैं आज हरेक मानिसको हातमा एउटा स्मार्ट फोन छ र, एउटा गुगल एकाउन्ट पनि, सँगै एक युट्युव च्यानल । त्यसलाई कसले कुन रूपमा प्रयोग गर्दैछ, अथवा, कुन उद्देश्यले प्रयोग गर्दैछ सोही अनुरुप मूल्यांकन गर्ने गरिन्छ । यस अर्थमा प्रोफेशनल रूपमा कलाकारितामा आफ्नो पहिचान बनाएका स्टारहरू नै युट्युबका माध्यमबाट डलर उन्मुख हुनुले भने नेपाली कलाकारिता अनि यसको भविष्यप्रतिको अनिश्चिता विम्वित भएको महशुस गर्न सकिन्छ । सृजनात्मक प्रस्तुति अथवा उत्पादन भन्दा पनि प्रचारात्मक प्रस्तुतिमा कलाकारहरूको ध्यान केन्द्रित देखिनुले उनीहरूको पेशागत आत्मसन्तुष्टिप्रति गहन प्रश्न खडा गरेको महशुस हुन्छ ।

Skip This
Skip This
Logo