‘अबको युग प्राविधिक शिक्षाको युग हो’ : प्रदेश प्रमुख शेरचन

‘अबको युग प्राविधिक शिक्षाको युग हो’ : प्रदेश प्रमुख शेरचन

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सामाजिक क्षेत्रमा रोटरी क्लवले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । रोटरी क्लवले शनिबार पोखरामा आयोजना गरेको पिसीआर उपकरण र शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोटरीले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्ने उद्देश्यसहित क्लवले सञ्चालन गरेको अभियानले राम्रो प्रभाव पारेको उनको भनाई थियो । “रोटरीले पछाडि पारिएकाहरुलाई शिक्षित र दिक्षित बनाउने उद्देश्यसहित सञ्चालन गरेको कार्यक्रम सकारात्मक छ, शिक्षा क्षेत्रमा रोटरीको योगदानको जति चर्चा गरे पनि कम हुन्छ,” प्रदेश प्रमुख शेरचनले भने ।

उनले शिक्षा प्रणाली उत्पादनमूलक र व्यवसायिक हुनु पर्नेमा जोड दिए। अहिलेको शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले अबको युगको प्राविधिक शिक्षाको युग रहेको चर्चा गरे। “डिग्री हासिल गरेर व्यवहारिक ज्ञान नसिकेसम्म त्यो डिग्रीको काम छैन, पढेको शिक्षा व्यवहार उपयोगी हुनुपर्छ,” उनले भने, “सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर लगानी बढाएको छ ।”

सोही अवसरमा क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्रीसहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी नेपाल शिक्षा अभियानका गण्डकी प्रदेश सचिव बाबुराम बरालले तनहुँ, कास्की, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, म्याग्दीका विभिन्न विद्यालयलाई सिकाई सामग्रीसहित टिभी हस्तान्तरण गरिएको जानकारी दिए।रासस

Logo