सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार आठ बन्डल जस्तापाता दिने

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई सरकारले प्रतिपरिवार आठ बन्डल जस्तापाता दिने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रति  परिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि जस्तापाता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।  

प्रधानमन्त्री ओलीले सरकारले अस्थायी घर बनाउन सहयोग गर्ने, खानेपानी, बिजुली र टेलिफोन तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएका छन्। साथै बाटो पुनः सञ्चालन गर्न पुल निर्माण, झोलुङ्गे पुल निर्माण गर्ने, बाढीको सूचना थाहा पाउने गरी साइरन जडान गर्नसमेत उनले निर्देशन दिए। 

पोखरेल र थापासहितको टिमले बाढीपहिरो प्रभावित स्थानका मानिसले भोगिरहेका समस्यालाई यथाशीघ्र सम्बोधन गरी मृतक परिवारलाई क्षतिपूर्ति, राहत र विस्थापित ४०० परिवारलाई राहत तथा पुनस्र्थापना, नदी नियन्त्रण, बिग्रेभत्केका संरचना (खानेपानी, विद्युत्, सडक, पुल)को तत्काल पुनर्निर्माण गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।  

यही असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीले जिल्लाका मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका छ वटा बजार तथा मानव बस्ती चनौटे, मेलम्ची, ग्याल्थुम, तालामाराङ, हल्दे, तिम्बु तल्लो बजार र सो आसपास बस्तीमा ल्याएको ढुङ्गागिट्टी तथा लेदोका कारण उक्त मानव बस्तीमा पूरै क्षति पुर्याई ठूलो सङ्कट पैदा भएको थियो । उक्त बाढीपहिरोमा परी १६ व्यक्तिको मृत्यु भएको थियो भने ४०० परिवार विस्थापित, ३३७ घर र ६० गोठ, छ मोटरेवल पुल तथा १३ झोलुङ्गे पुल बगाएको थियो । 

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा अपूरणीय क्षति भएको, विद्युत् प्रसारण लाइन अवरुद्ध  भएको छ भने बैंकबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको बैंक किस्ता भुक्तानीमा समस्या भएको ज्ञापनपत्रमा उल्लेख छ।

यसैबीच आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन्। उनले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। 

मन्त्री श्रेष्ठले कुराभन्दा काममा विश्वास गर्ने भन्दै हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार गर्ने बताए। उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका मन्त्री श्रेष्ठले संघ प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने बताए। 

Skip This
Skip This
Logo