काभ्रेपलाञ्चोकको पाँचखाल नगरगपालिकाले रु ८९ करोड ५६ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नवौं नगरसभाले कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकूद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अगाडी सारेको हो।
नेपाल सरकार सशर्त अनुदान रु २४ करोड ९७ लाख, प्रदेश सरकार सशर्त अनुदान रु दुई करोड १४ लाख, प्रदेश सरकार समपूरक अनुदान रु तीन करोड, प्रदेश सरकार विशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा रु १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड रु आठ करोड ४६ लाख गरी बाँडफाट नहुने रकम रु ४३ करोड ७० लाख रहेको छ। त्यसैगरी बाँडफाँट गर्न योग्य रु ३१ करोड ९२ लाख ७८ हजार ५४३ रहेको छ ।
नगर प्रमुख महेश खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बाल विवाह अन्त्य गर्नका लागि ‘पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान’ सञ्चालन गर्ने भएको छ। त्यस्तै नगरपालिकाले जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने, कोभिड–१९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीका लागि बीमा पुरस्कार एवं प्रोत्साहन भत्ता उपलब्ध गराउने, नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहबारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत एक पत्रकारलाई पुरस्कृत गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
त्यसैगरी, एक घर, एक बैंक खाता नीति अनुरूप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने उल्लेख गरिएको छ भने नगरको विकासका लागि वडास्तरबाटै पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित पूर्वाधर निर्माणसहितको योजनालाई अघि सारेको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमकितामा राखेर योजना बनाएको छ। जसमा कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित, आकर्षक पेशाको रूपमा विकास गरी प्रतिस्पर्धात्मक बनाउन आवश्यक पहलकदमी लिनुका साथै सहयोगी कार्यक्रमहरूमा जोड दिने उल्लेख गरिएको छ।रासस































प्रतिक्रिया