नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद् सचिवालयलाई पत्र पठाएका छन्। उनले आइतबार आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन सचिवालयमा सूचना दर्ता गराएका हुन्।
सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आफूहरु दलविहीन भएको भन्दै भुसालले आफू एमाले संसदीय दलमा नभई स्वतन्त्र हैसियतमा क्रियाशील रहने बताएका छन्।
भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न र आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोध गरेका छन्। राष्ट्रिय सभा बैठकको तयारी भइरहेको बेला उनले अचानक एमाले छोड्ने निर्र्णय गरेका हुन्।
तत्कालिन नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा खुलेरै लागेका थिए।
उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका थिए। बेदुराम भुसालले तत्कालिन नेकपाको टिकटबाट राष्ट्रियसभामा जितेका थिए।
पार्टीबाट टिकट लिएर चुनाव जितेका भुसालको उक्त पत्र संसद सचिवालयले के गर्छ त्यो हेर्न बाँकी छ । तथापि नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिको हकमा अदालतबाट अहिलेसम्म थप कुनै आदेश र फैसला नभएको तथा यसअघि सांसदहरुले आ आफ्नो दल रोजेका कारण भुसालको निवेदनमा के गर्ने भन्ने टुंगो नलागेको स्रोतले बताएको छ।
भुसालको उक्त पत्रले अब नेकपाबाट निर्वाचितहरुको हकमा के हुन्छ भन्ने टुगो लाग्ने देखिन्छ।





























प्रतिक्रिया