दूरी कायम गर्दै वाग्मती सफाइ अभियान

दूरी कायम गर्दै वाग्मती सफाइ अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले भने निरन्तरता पाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३८७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो । पशुपति क्षेत्रमा पहिलेभन्दा सफा देखिएको उनले जानकारी दिइन् ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । कुहिने फोहरलाई मल बनाइएको र नकुहिने फोहर व्यवस्थापन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का निर्वाचित जनप्रतिनिधिसँग सफाइ अभियानका विषयमा सो अवसरमा छलफलसमेत गरिएको अभियानकर्मी पौडेलले जानकारी दिइन् । सफाइमा अभियानकर्मी सृजना काफ्ले, प्रिया लामिछाने, रामशरण कार्की, प्रमिला पौडेल, बानेश्वर महिला वातावरण सेवाका दुर्गा दुलाल लगायतले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ अभियानलाई निरन्तरता दिइन्।

रुद्रमती सफाइ अभियानको ३४६ औँ हप्तामा कालोपुलबाट रातोपुलको पूर्वी भाग, रातोपुलबाट सेतोपुलको दुवैतिर गरी २१५ वटा गुर्जोको बिरुवा रोपिएको छ । सफाइमा उपस्थित अभियानकर्मीलाई घर घरमा समेत रोप्न एक–एक गुर्जोको बिरुवा उपलब्ध गराइएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए । गुर्जोको बिरुवा आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले निःशुल्क उपलब्ध गराए। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत अभियानकर्मीको सक्रियता थियो ।

मनोहरा नदी सफाइ अभियानको १८६ औँ हप्तामा नेपालीको महान् चाड बडादशैँ तथा शुभदीपावलीका अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको थियो । महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष, सञ्चारकर्मी लगायतको कार्यक्रममा उपस्थिति थियो ।

चक्रपथ उत्तरी खण्ड सफाइको १८५ औँ हप्तामा गोङ्गबुबाट सामाखुसी चोकसम्म सफाइ गरिएको छ । करिब २० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक रिक्सा फोहर सङ्कलन गरिएको अभियानकर्मी एवं लोकगायक तिलक बस्नेतले जानकारी दिए ।

ललितपुरको गोदावरी खोला सफाइको ८४ औँ हप्तामा गोदावरी नगरपालिकाको छ स्थानमा सफाइ गरिएको छ । वडा नं १, २, ३ र १४ का विभिन्न स्थानमा नजिक नजिक सफाइ गरियो । भौतिक दूरी कायम गरी सफाइ गरिएको थियो । कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन वाग्मती सुन्दरता सरोकार मञ्चको सहयोगमा अर्को हप्ता गरिने तयारी भइरहेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिए।

गोदावरी खोलाका विभिन्न स्थानमा २० वटा बोर्ड राखिएको छ । नगरपालिकाको सहयोगमा १० र अन्य संस्थाको सहयोगमा १० वटा जनचेतनामूलक बोर्ड राखिएको छ । फ्लेक्स नराखी पुनःप्रयोग हुने फलामको बोर्ड राखिएको छ । सफाइका लागि आवश्यक मास्क, पञ्जासमेत नगरपालिकाले उपलब्ध गराएको अभियानकर्मी राजभण्डारीले सुनाए। उपत्यकाका सबै सफाइ अभियान भौतिक दूरी कायम गरी कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका उपाय अपनाएर गरिएको जनाइएको छ ।रासस

Logo