देउवाको समर्थनमा गरिएको हस्ताक्षर फिर्ता लिन एमालेको अल्टिमेटम (भिडियो)

देउवाको समर्थनमा गरिएको हस्ताक्षर फिर्ता लिन एमालेको अल्टिमेटम (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)लाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताएका छन्। आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको उनको आरोप छ। यसैबीच आज, एमालेको केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबारसम्ममा फिर्ता लिन निर्देशन दिएको छ। आजको बैठकमा एमालेका खनाल–नेपाल समूहको उपस्थिति नभएपनि कुनै पनि समूहमा नदेखिएका उपाध्यक्ष वामदेव गौतम भने सहभागी थिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतमा अघिल्लो बुधाबारबाट नै अन्तिम सुनुवाइ प्रक्रिया जारी छ। जसमा सोमबारदेखि रिट निवेदनको विपक्षमा भएको भएको बहस आज शुक्रबार सकिएको छ। बहसमा निवेदक पक्षका कानून व्यवसायीले बहुमत सांसद विघटन विपक्षमा रहेको जिकिर गर्दै  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् भने, विपक्षका कानून व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनसम्बन्धी कदमको रक्षा गरेका छन्। अब, आइतबारबाट सभामुखका तर्फबाट बहस हुनेछ। 

मनसुनी वर्षासँगै देशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनेको छ। मनसुन सक्रिय बनेसँगै विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध बनेका छन् भने, नदी तथा तटिय क्षेत्रमा पानीको बहाब बढ्दैजाँदा जोखिम बढ्न थालेको छ। नेपालमा पछिल्लो अद्यावधिक सरकारी विवरण अनुसार गत जेठ ३१ यता मात्र मनसुनजन्य १७८ घटना भएको र त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको तथा ३० जना बेपत्ता भएको जनाइएको छ।

अर्थ मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। अर्थमन्त्रालयले निर्वाचनमा कुनै आवश्यकता अभाव हुन नदिने गरी उक्त सहमति प्रदान गरेको जनाएको छ। यद्यपि सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को प्रस्तुत बजेटमा निर्वाचनको लागि भनेर बजेट भने विनियोजन गरेको थिएन ।

जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज रातिबाट सुरु हुँदैछन्। युरोपका विभिन्न शहरमा आयोजना भइरहेको युरोकप अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुनेछन्। पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा दोस्रो खेलमा बेल्जियम र इटाली प्रतिस्पर्धा गर्नेछन्। आजको खेलमा रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा पौने १० बजे स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने, जर्मनीको एलिनाज स्टेडियममा पौने १ बजे इटाली र बेल्जियम बीच प्रतिस्पर्धा हुनेछ।

Skip This
Skip This
Logo