कहाँ पुग्यो कांग्रेसको क्रियाशील सदस्यता छानबिन कार्य?

कहाँ पुग्यो कांग्रेसको क्रियाशील सदस्यता छानबिन कार्य?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने गरि काममा तिब्रता दिएको छ। कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै क्रियाशील सदस्य छानबिन समितिलाई समयमै काम सम्पन्न गर्ने दबाब बढेको छ। देशैभरिका स्थानीय पालिकाको वडा वडाबाट सिफारिस हुने क्रियाशील सदस्यमा उजुरी परेपछि छानबिन समितिलाई टुंगो लगाउन समस्या परेको थियो।

पुराना सदस्यहरुको क्रियाशील सदस्यको नवीकरणमा समस्या नभए पनि नयाँ सदस्य र विभिन्न पार्टीहरु एकिकरण भई समायोजनमा आएकाहरुमा विवाद देखिएको छ । क्रियाशील सदस्यको सूची प्रमाणित गरेर वडा, गाउँपालिका, नगरपालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमिति हुँदै केन्द्रमा आउनुपर्ने व्यवस्था छ। 

छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य श्यामप्रसाद घिमिरेले प्राप्त विवरणहरुलाई हेर्दा धेरै ठूलो समस्या नरहेको र तोकिएको समयमा छानबिन गरि विवरण सभापतिलाई बुझाउन सकिने बताए । प्राविधिक कामको चापलाई घटाउने काम गर्ने काम भइरहेको पनि उनले बताए। समितिमा प्राप्त भएको विवरणमा परेको उजुरीलाई पनि समयमै छानबिन गरि टुंगो लगाउने समिति सदस्य घिमिरेको भनाइ छ। 

नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ९ लाख पुग्ने अनुमान गरिएको छ । कांग्रेसको संगठनमा क्रियाशील सदस्यलाई सक्रिय कार्यकर्ता मानिन्छ । छानबिन समितिलाई प्राप्त भएको नामावली विवरण हेर्दा यूवाहरुको ठूलो हिस्सा कांग्रेसमा रहेको समिति सदस्य घिमिरेले बताएका छन्। प्राप्त विवरणमा ३० देखि ४० वर्षको उमेर समूहका सबैभन्दा बढी ४० प्रतिशत रहेको पाइएको समिति सदस्य घिमिरेले जानकारी दिए। कांग्रेसमा नेतृत्व विकाश क्रमशः युवा पुस्तामा सर्दै गएको क्रियाशील सदस्यहरुको विवरणले देखाएको घिमिरेले बताए। 

कांग्रेसको महाधिवेशन आगामी भदौ २३ गतेभित्र अनिवार्यरुपमा गरिसक्नु पर्नेछ। यसैमा महाधिवेशन तयारीका कामहरु पनि भइरहेका छन् । नेपाली कांग्रेसमा क्रियाशील सदस्यहरुले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छानेर पठाउने छन् भने केन्द्रीय समितिका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । कांंग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ। कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुनमा काठमाडौंमै भएको थियो।

Logo