शेयर बजार निरन्तर ओरालो, नेप्से परिसूचक ११.७८ अंकले घट्यो

शेयर बजार निरन्तर ओरालो, नेप्से परिसूचक ११.७८ अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा लगानी जोखिममा रहको विज्ञप्ति निकालेसँगै निरन्तररुपमा बजार गिरावट भइरहेको छ।

साताको पहिलो दिन आइतबार ८.४८ अंकले घटेको शेयर दोस्रो दिन सोमबार ११.७८ अंकले घटेर २ हजार ८२२.७३ अंकमा झरेको छ।  आज कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । कारोबार रकममा समेत भारी गिरावट आएको छ। 

कोरोना महामारीको दोस्रो लहरपछि लागू भएको निषेधाज्ञापछि दैनिक १७ अर्बभन्दा बढीको कारोबार हुँदै आएको थियो । गत असार ५ गते पँुजीबजारमा एकै दिन १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो । धितोपत्र बोर्डको विज्ञप्तिसँग नेप्से परिसूचक र कारोबार रकममा घट्दै आएको छ । सोमबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६ लाख ३ हजार ६३६ कित्ता शेयर ४ अर्ब ५८ करोड बराबर कारोबार भएको छ।  

तीन साताको अन्तरालमा कारोबार रकम मात्रै साढे १५ अर्बभन्दा बढीले घटेको छ भने नेप्से परिसूचक २०३.१ अंकले गिरावट आएको छ । नेप्से गत असार ७ गते अहिलेसम्मकै उच्चविन्दु ३ हजार २५.८३ अंक पुगेको थियो। 

आज कारोबारमा आएका कम्पनीहरु मध्ये १७१ वटा कम्पनीको शेयर मूल्य घट्दा ४३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर छ।

सोमबार लगानी, म्युचुअल फण्ड, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ समूहबाहेकका सब इन्डेक्समा समेत भारी गिरावट देखिएको छ।

सोमबार विशाल बजार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ८७९ रुपैयाँ पुगेको छ । त्यसैगरी एचडीएलको शेयर मूल्य ८.०२ प्रतिशतले बढ्दा छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७.७८ प्रतिशतले बढेको छ।

त्यस्तै आज सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा गोर्खा फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनीलगायत छन्।

आज कारोबार रकमका आधारमा हिमालयन डिस्ष्टिलरी, माथिल्लो तामाकोसी, नेपाल बैंक, निफ्रा र नेपाल टेलिकम सबैभन्दा अगाडि रहेका छन्।

मौद्रिक नितीको पर्खाइ, असार मसान्तको दबाब र राजनीतिक अन्यौलताका कारण लगानीकर्ताले लगानी नबढाउँदा बजारमा प्रभाव परेको शेयर विश्लेषकहरुले बताएका छन्।

Skip This
Skip This
Logo