माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै बुधबार निर्वाचन आयोग पुगेका एमालेका पूर्वमाओवादी नेताहरू आज पनि आयोग पुगेका छन् । उनीहरु आफूहरुले दर्ता गराएको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका हुन् ।
नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज बिहान ११ बजे निर्वाचन आयोग पुगेका छन्। लेखराज भट्ट भने अस्वस्थ भएका कारण गएका छैनन्।
नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै उनीहरुले बुधबार निर्वाचन आयोग पुगेर निवेदन दिएका थिए।
नेकपा एमालेमा आवद्ध भएका पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्रको महाधिवेशन २०६९ सालपछि हुन नसकेको र यसैका कारण पार्टी अवैधानिक भएको भन्दै दल दर्ता खारेजी गर्न निवेदन दिएका हुन्।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकिकरणलाई खारेज गरिदिएपछि एमालेतर्फ लागेका पूर्वमाओवादी केन्द्रका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा लगायतका नेताहरुलाई माओवादीले कारबाही गरेको थियो। सो कारबाही अवैधानिक भएको र माओवादी केन्द्रलाई निर्वाचित जनप्रतिनिधिलाई कारबाही गर्ने अधिकार पनि नभएको आरोप लगाइएको छ।
बुधबार निवेदन लिएर पूर्वमाओवादी केन्द्रका नेताहरु लिलबहादुर थापा, रामचन्द्र मण्डल र अधिवक्ता सरोज बुढाथोकी निर्वाचन आयोग पुगेका थिए।
निर्वाचन आयोगलाई एकातिर सर्वोच्च अदालतको फैसला अघि अनिश्चित रहेको निर्वाचनको तयारीको चटारो छ भने जनता समाजवादी पार्टीको विवाद र माओवादी केन्द्र दल दर्ता खारेजीको सम्वन्धमा परेको निवेदनको पनि छिट्टै निर्णय दिनुपर्ने अवस्था आएको छ।































प्रतिक्रिया