प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ।
प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ नेपालका युवाहरुले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । वर्तमान सरकार र नेकपा एमालेविरुद्धको घेरावन्दीविरुद्ध आफूहरु प्रदर्शनमा उत्रिएको उनीहरुले बताए ।
विपक्षी गठबन्धनमा संलग्न भएका राजनीतिक दलका विद्यार्थी संगठनहरु चरणबद्ध आन्दोलनमा उत्रिएका बेला प्रधानमन्त्री तथा सरकारको समर्थनमा सत्तारुढ दलका युवाहरु पनि प्रतिकारात्मक प्रदर्शनमा उत्रिएका हुन् । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले सरकारविरुद्ध चौतर्फी घेराबन्दी भएपछि आफूहरु प्रतिकारमा उत्रिएको बताए। उनले राष्ट्रिय युवा संघ नेपालले सरकारविरुद्ध भएका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिने चेतावनी दिए।
उनले भने,“राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ताको शरीरमा २ थोपा रगत रहुञ्जेलसम्म तिमीहरुले हाम्रा नेताको पुत्ला जलाएर केही फरक पर्दैन। हाम्रो नेताको कुनै भुत्ला जल्नेवाला छैन। हामी तिमीहरुका हरेक किसिमका गतिविधिहरुको जस्ताको तस्तै जवाफ दिन तयार छौं। ”
प्रदर्शनमा सहभागी युवाहरुले केपी ओलीको चित्र अनुहारमा कोरेका थिए। उनीहरुले संविधान मिच्न पाईंदैन भन्दै नाराबाजी गर्नुको साथै नेपालको नक्सा र संविधान प्रदर्शनमा राखेका थिए।





























प्रतिक्रिया