सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि काठमाडौं उपत्यकामा सुरक्षाकर्मीहरूको उपस्थिती बढाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसँग समन्वय गरेर सुरक्षाकर्मीको संख्या बढाइएको बताए।
उनले फैसलालाई लिएर चित्त नबुझाउने पक्षबाट नाराबाजीसहित आन्दोलन हुन सक्ने र अप्रिय घटना पनि हुन सक्ने सम्भावना भएकाले सुरक्षाकर्मीहरू तैनाथ गर्नुपरेको केन्द्रविन्दुलाई बताए।
‘सर्वोच्चको फैसला आइसकेको अवस्था छ। समर्थन र विरोध गर्ने पक्षहरू हुन्छन्। फैसला सर्वमान्य नहुन सक्छ। विरोधका कुराहरू सामाजिक सञ्जालमा मात्रै नभइ भौतिकरूपमा पनि हुन सक्छन् र त्यस्तो अवस्थामा सुरक्षा प्रदान गर्नुपर्ने अवस्था हुन्छ।’, प्रवक्ता कुँवरले बताए।
प्रहरी प्रधान कार्यालयका अनुसार आजै उपत्यकाको सर्वोच्च अदालत आसपास, माइतीघर र प्रदर्शनीमार्ग क्षेत्रमा बढी संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
सम्भावित सुरक्षा संवेदनशीलताको आधारमा उच्च पदस्थ अधिकारीसँगै मुद्दाको फैसला गर्ने न्यायाधीशहरूलाई पनि कडा सुरक्षा दिइएको पनि प्रहरीले जनाएको छ।





























प्रतिक्रिया