कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रति परिवार २५ हजार दिने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिले ०७८ बैशाखदेखि यताका बाढी पहिरो पीडित परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ। 

बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको विहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । बाढी पहिरो पीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो। 

बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधैं आइरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताए। उनले समितिले ०७८ साल यता बाढी पहिरो पीडितहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए। उनले मुलुकभरबाट बाढी तथा पहिरोले पुर्याएको भौतिक र मानवीय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराइने जानकारी दिए।

उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए। बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी छन्। 

त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव छन्। त्यसैगरी आमन्त्रित सदस्यहरुमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मनोनित गरेका हुन्।

Logo