महासंघद्वारा प्रधानमन्त्रीसँग भेटः निजी क्षेत्रलाई कोभिड खोपको प्राथमिकतामा राख्न माग

महासंघद्वारा प्रधानमन्त्रीसँग भेटः निजी क्षेत्रलाई कोभिड खोपको प्राथमिकतामा राख्न माग

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघको पदाधिकारीहरुको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासमक्ष सिंहदरवारमा छुट्टा छुट्टै भेटवार्ता गरेको छ। अध्यक्ष गोल्छाले प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई सो अवसरमा महासंघको तर्फबाट बधाई दिएका छन् ।

महासंघका तर्फबाट ती दुवै भेटवार्तामा थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिइएको महासंघले जनाएको छ ।   

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई सहभागी भेटवार्तामा अध्यक्ष गोल्छाले कोभिडले थलिएको उद्योग व्यवसायलाई माथि उठाउन अनुरोध गरेका छन्। अर्थतन्त्रलाई टिकाउन अग्रभागमा रहेर काम गर्ने उद्योगी व्यवसायी र कामदार कर्मचारीलाई खोपमा अनिवार्य व्यवस्था गर्न महासंघले दुवै भेटवार्तामा आग्रह गरेको थियो । सरकारको राजस्वको मुख्यस्रोत निजी क्षेत्र रहेको अध्यक्ष गोल्छाले बताएका छन्।

‘महासंघले दिएका सुझाव बजेटमा पनि समेटिएका छन, मौद्रिक नीतिका लागि पनि सुझाव दिएका छौं । तीनको प्रभावकारी कार्यान्वयन महासंघले खोजेको र त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेका छौं’, अध्यक्ष गोल्छाले भने । 

अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र कस्तो हुने भन्ने लक्ष्यका साथ महासंघले नेपाल राष्ट्रिय आर्थिक रणनीतिपत्र २०३० (नेट २०३०) सार्वजनिक गरेको र सरकारलेसमेत यसको अपनत्व लिई सकेकाले त्यसको कार्यान्वयनमा पनि सहयोग खोजेको भेटवार्तामा महासंघकातर्फबाट स्पष्ट रुपमा राखेका छन्। 

महासंघसगको भेटवार्तामा प्रधानमन्त्री देउवाले समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोध गरेको महासंघले जनाएको छ।

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोप लगायत अन्य आवश्यक कार्यमा आफना तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउंदै निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाएका छन्। अर्थमन्त्री शर्माले महासंघले दिएका सुझावलाई सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको पनि बताएका छन्।

Skip This
Skip This
Logo