सरकारी टोली र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरु

सरकारी टोली र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकार वार्ता टोली र डाक्टर गोविन्द केसी पक्षबीच केही बेर अघि वार्ता शुरु भएको छ । बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेका थिए । सो टोलीले आजैदेखि काम शुरु गरेको हो । आज केही बेर अघि शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको हो ।

सरकारले २५ दिनदेखि अनशनरत चिकित्सक प्रा डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्रा डा केसी गत २५ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन् ।

सरकारले गठन गरेको टोलीसँग वार्ताका लागि डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्यीय टोली गठन भएको छ ।

मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नु पर्ने अडान राखेपछि बुधबार समिति गठन गरिएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए । बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा डा केसीलाई आग्रह गरेको थियो । सरकारले प्रा डा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।

Logo