काठमाडौं ।
काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न ठाउँमा बजार अनुगमनलाई तिब्रता दिएको छ । महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वको पूर्वसन्ध्यामा बजारमा म्याद गुज्रिएका सामानहरु विक्री वितरण हुन सक्ने अवस्थालाई ध्यान दिदै अनुगमनलाई तिब्रता दिएको हो ।
महानगरपालिकाले बुधबार काठमाडौंको नक्साल, कालो पुल लगायतका ठाउँमा रहेका मार्टहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा नक्सालस्थित बिगमार्टमा केही कमिकमजोरी पाइएकाले सचेत गराइएको अनुगमनमा रहेका महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । त्यसबाहेक कालोपुलस्थित एक मार्टको गोदाममा करिब १० लाख रुपैयाँ बराबरको म्याद गुज्रिएको सामानहरु राखिएको अवस्थामा फेला परेको उनले बताए ।
उक्त मार्टलाई दुई महिना पहिले पनि सोही सामान राखेको भनि वाणिज्य विभागले कारबाही गरेको पाइएकोले एक साताभित्र विस्तृत विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिइएको उनले बताए। उक्त सामग्रीको व्यवस्थापन छिटो गर्न नसके पुनः कारबाहीको प्रक्रियामा जाने पनि उनले बताए ।
यस्तै अनुगमनमा रहेका उपभोक्ताकर्मी माधव तिमल्सिनाले दशैं तिहार जस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामानहरु विक्री वितरणका लागि आएको हुन सक्ने भएकाले अनुगमनलाई तिब्रता दिनु पर्ने बताए । जहाँ म्याद सकिएका समाग्री फेला पर्छ त्यहिं नै नष्ट गर्ने गरी बजार अनुगमन गरिनुपर्ने उनले बताए।
काठमाडौं महानगरपालिकाले बजार अनुगमनका क्रममा कुनै कैफियत फेला परे वाणिज्य विभागलाई कारबाहीका लागि सिफारिस गर्दै आएको छ । तर निकट भविष्यमै आफ्नै कार्यविधि, निर्देशिका र नियमावली ल्याई बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरका कृषि विभाग प्रमुख भण्डारीले बताए ।





























प्रतिक्रिया