महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ। 

सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन्। निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढने भन्ने विषयमा आफूहरुबीच छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। 

उनले भने, “निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरु प्राप्त भएका छन्। त्यसलाई अध्ययन गरेर कसरी अघि बढने भन्ने विषयमा छलफल सुरु गरिएको छ।”

ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ। “सरकारलाई समर्थन गरियो। तर सहभागी हुँदैनौं। अहिले पनि विपक्षमा बस्छौं।” नेता कर्णले भने।

ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाईदिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु मध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएको थियो।

Logo