मौद्रिक नीति ल्याउन राष्ट्र बैंक स्वायत्त निकाय, रोकेको छैनः अर्थमन्त्री शर्मा

मौद्रिक नीति ल्याउन राष्ट्र बैंक स्वायत्त निकाय, रोकेको छैनः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निक्र्यौल गर्न सुझाव दिएको बताए ।

चालु आर्थिक वर्षको दुइ साता बितिसक्दा पनि केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।

मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पारे । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष मोदनाथ ढकाल नेतृत्वको पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नरज्यूलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।’ 

वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सिर्जना गर्न आफूले निर्देश गरेको उनले बताए । ‘आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन, रोकेको त हुँदै होइन,’ शर्माले भने,‘नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा’ भनेको छु ।’

ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहँदा जानी–जानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गल्ती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

त्यस्तै अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले ‘तथ्यमा आधारित नीति’ बनाउन सघाउ पुग्ने बताएका थिए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।

सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताए । ढुंगानाले भने, ‘हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि गर्न सक्छ ।’

 

Skip This
Skip This
Logo