देउवा नेतृत्वको समिति २३ भदौदेखि रहँदैनः रामचन्द्र पौडेल

देउवा नेतृत्वको समिति २३ भदौदेखि रहँदैनः रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्य समितिको वैधानिकता सकिने बताएका छन्।

वैधानिकता सकिएपछि देउवा नेतृत्वको समिति रहन नसक्ने उनको भनाइ छ। कांग्रेस विकल्पविहीन अवस्थामा आइपुगेको भन्दै निर्धारित समयमा महाधिवेशन हुनुपर्ने पौडेलको भनाइ थियो।

अझै पनि महाधिवेशन हुने अवस्था रहेको उनी बताउँछन्। ‘महाधिवेशन १६ भदौदेखि नहुने अहिल्यै भन्न सकिन्नँ, अझै समय छ, हुन सक्छ। तर, सुरु गर्नुपर्यो, सुरु नभएर बिग्रियो’, वरिष्ठ नेता पौडेलले चाक्सिबारीमा आफूपक्षीय नेताहरूको बैठकपछि बताए।

पार्टीको निर्वाचन समितिलाई क्रियाशील सदस्यता ंर निर्वाचन निर्देशिका दिएको अवस्थामा निर्वाचन प्रक्रिया छोटो पारेर भए पनि केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन गर्न सकिने उनको भनाइ छ।

तर, कांग्रेसमा क्रियाशील सदस्यताको विवाद अहिलेसम्म टुङ्गिएको छैन। 
यस्तो अवस्थामा पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनमा नेता पौडेलको जोड छ।

‘पार्टीको २३ गतेसम्म नयाँ कार्य समिति आएन भने यो कार्य समितिको वैधानिकता सकिन्छ, त्यसपछि पार्टीको वैधानिकता संकटमा पर्न सक्छ, त्यसबाट बच्न प्रक्रिया पूरा गरेर १÷२ महिना लाग्छ भने त्यसको लागि अस्थायी व्यवस्था गर्न सकिन्छ कि भनेर विशेष महाधिवेशन भनिएको हो’, पौडेल बताउँछन्।

उनले विशेष महाधिवेशन भएको अवस्थामा पुराना अर्थात् १३ औं महाधिवेशन प्रतिनिधिहरूलाई मतदाता बनाउन सकिने सुझाव पनि दिएका छन्। केन्द्रीय कार्यसमितिको कार्यकाल विधानमा तोकिएको तर महाधिवेशन प्रतिनिधिहरूको नतोकिएको बताए।

सभापति शेरबहादुर देउवालाई २०७५ फागुन २८ मा बसेको महासमिति बैठकमै पार्टीमा संकट आउन सक्ने र त्यसबाट जोगिन महाधिवेशनको कार्यतालिका बनाएर अगाडि बढौं भन्दा सभापति देउवाले बेवास्ता गरेपछि ख्यालख्यालमा अब विकल्पविहीन अवस्थामा आइपुगेको उनको भनाइ थियो।

फरक प्रसंगमा उनले क्रियाशील सदस्तयासम्बन्धी विवाद टुंगिएर वडा तहको निर्वाचन सुरु भएपछि सरकारमा आफ्नो पक्षबाट मन्त्रीका लागि नाम पठाउने पनि बताए।

Skip This
Skip This
Logo