कोरोना संक्रमणको ‘ग्राफ’ फेरि उकालो लाग्ने क्रममा छ। सोमबार ३ हजार १ सय २५ जनामा देखिएको संक्रमण मंगलबार ३ हजार ३ सय ८३ जनामा पुष्टि भयो। त्यस्तै बुधबार ४ हजार १ सय सात जना र बिहीबार ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टले देखाउँछ।
यसरी दैनिक चार हजारको हाराहारीमा संक्रमण पुग्दै गर्दा पुरानै स्थिति निम्तिन्छ कि भन्ने भय बढ्दै गएको छ। साथै किन संक्रमण बढ्दैछ भन्ने जिज्ञासा पनि रहँदै आएको छ। दक्षिण पूर्वी एशियाका देशहरूमा कोरोना महामारीको तेस्रो लहर चल्दै गर्दा कतै हाम्रोमा पनि तेस्रो लहर सुरु त भएको होइन भन्ने आशयका प्रश्नहरू पनि जन्मिएका छन्।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएका नमूनामा भएको उत्परिवर्तन जाँच्न नियमित रूपमा भारत पठाउँदै आएको छ। नेपालभित्र भाइरसको उत्परिवर्तनबारे मन्त्रालयले अहिलसम्म सार्वजनिक गरेको जानकारी अनुसार पछिल्लो समय देखिएको ‘डेल्टा प्लस’ भन्दा नयाँ भेरियन्ट नेपालमा फेला परेको छैन। त्यस हिसाबले पुरानै भेरिएन्ट अहिले फैलिने क्रममा रहेकोले संक्रमणमा भएको वृद्धि नयाँ लहरको सुरुआतभन्दा पनि पुरानै लहरको निरन्तरता हो।
‘डेल्टा भेरिएन्ट’ फैलिन थालेसँगै नेपालमा कोरोनाको दोस्रो लहरको सुरुआत भयो। त्यसैअनुरुप वैशाख १६ गतेबाट देशभरका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरियो। त्यसरी लागू गरिएको निषेधाज्ञा अहिले खुकुलो बन्ने क्रममा रहेको छ। यसरी खुकुलो बन्दै गएको निषेधाज्ञासँगै व्यवसायका विभिन्न क्षेत्रहरू सञ्चालनमा आउनुका साथै मानिसको जमघट बढेको छ। त्यसै अनुसार ‘डेल्टा’ र ‘डेल्टा प्लस’ भेरियन्टको संक्रमणले फेरि निरन्तरता पाएको हो।
डेल्टा भेरियन्ट कोरोना भाइरसका भेरियन्टमध्ये सबैभन्दा प्रभुत्वशाली सावित भएको छ। कोरोना भाइरसका अन्य भेरियन्टको संक्रमण भइरहेको ठाउँमा पनि ‘डेल्टा’ भेरिएन्ट हाबी हुँदै गएको छ। दक्षिणपूर्वी एसिया अमेरिकामा पछिल्लो समय देखिएको ‘डेल्टा’ भेरियन्ट संक्रमणको वृद्धि यसको उदाहरण हो।
यसरी डेल्टा भेरियन्टको दबदबा संसारभर बढेर तेस्रो लहरको कारण बन्दै गर्दा नेपालमा भने दोस्रो लहरको कारण नै ‘डेल्टा’ भेरियन्ट भएको र त्यसभन्दा प्रभुत्वशाली भेरियन्ट विकास भएको वा प्रवेश गरेको नपाइएकाले तेस्रो लहर सुरु भएको भन्न मिल्दैन। त्यसैले अहिले बढेको संक्रमण निषेधाज्ञाले दबाएको दोस्रो लहरको निरन्तरता हो।
नेपालमा ‘सेरोप्रिभ्यालेन्स’ (रोगप्रतिरोधात्क ‘एन्टिबडी’ विकास भएको जनसंख्याको अनुपात) बारे अध्ययन गरिएन। तर, कोरोना संक्रमण व्यापक नै भएको पछिल्ला तथ्याङ्कबाट अनुमान लगाउन सकिन्छ। एउटै भेरियन्टबाट पटक–पटक संक्रमित हुने सम्भावना कम नै रहन्छ। त्यसैले नयाँ भेरियन्ट नभएको अवस्थामा संक्रमण ठाडो अकालो नलाग्ला भन्ने अनुमान लगाउन सकिन्छ। पछिल्लो समय संक्रमण नभएका र विशेषगरी खोप नपाएका मानिस अहिले अस्पताल भर्ना हुनुबाट पनि यस वृद्धिलाई दोस्रो लहरकै निरन्तरता भन्न सकिन्छ।
यद्यपि, दोस्रो लहरमा डेल्टा भेरियन्ट भित्रिनु र फैलनुको मुख्य कारण चाडपर्व, जमघट र राजनीतिक भेला थिए। यी गतिविधि निषेधाज्ञा खुकुलो भएसँगै बढेकाले नयाँ भेरियन्ट भित्रिने वा विकास हुने अनि तेस्रो लहर निम्तिने सम्भावनालाई भने नकार्न सकिन्न।
(संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग केन्द्रबिन्दुका लागि कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)































प्रतिक्रिया