वार्सिलोनाबाट बाहिरिएका मेस्सीको अबको यात्रा कता?

वार्सिलोनाबाट बाहिरिएका मेस्सीको अबको यात्रा कता?

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाको राष्ट्रिय टिम तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान ३४ वर्षीय लियोनल मेस्सीले अन्ततः बार्सिलोना छाडेका छन्। बार्सिलोनाले बिहीबार फुटबलका हस्ती मेस्सीसँग गरिएको सम्झौता नवीकरण नभएको जनाएको हो।

बार्सिलोनाले ला लिगाको वित्तीय एवं संरचना कानुनी अडचनले गर्दा मेस्सीसँगको सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ। यसअघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षको नयाँ सम्झौता गर्ने बताइएको थियो। तर, बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको दिएको हो। 

सर्वाधिक (६ पटक) बालोन डि’ओर तथा ६ पटक गोल्डेन बुट अवार्ड विजेता मेस्सी गत जुन ३० देखि ‘फ्रि एजेन्ट’ बनेका थिए।  त्यसैले मेस्सी अब फ्री ट्रान्सफर का रूपमा अन्य क्लब जानेछन्।

सन् १९८७, जुन २४ मा जन्मिएका मेस्सीले सन् २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। कीर्तिमानी खेलाडी मेस्सीले बार्सिलोनाका लागि ७ सय ७८ खेलमा कूल ६ सय ७२ गोल गरेका छन्। यस्तै, मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्। उनले ७ पटक ‘कोपा डेल रे’ उपाधि हात पारे। 

गोल्डेन बुट जित्ने क्रममा मेस्सीले बार्सिलोनाबाट सन् २००९–२०१० को ‘ला लिगा’मा ३४ गोल गरेका थिए। यस्तै, सन् २०११–१२ को ला लिगामा ५० गोल, २०१२–१३ मा ४६ गोल, २०१६–१७ मा ३७ गोल, २०१७–१८ मा ३४ गोल र २०१८–१९ को सिजनमा ३६ गोल गरेका थिए। 

त्यस्तै, मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

१३ वर्षको उमेरमा सन् २००० मा मेस्सी बार्सिलोना क्लबको चर्चित ‘ला मासिया’ एकेडेमीमा सामेल भएका थिए।

आधा तलबमै भए पनि मेस्सी बार्सिलोनामा बस्न चाहन्थे  

मेस्सी पहिलेको भन्दा आधा तलबमा सन् २०२६ को अन्त्यसम्म बार्सिलोना फुटबल क्लबबाट खेल्न सहमत भएका थिए। तर, यो घोषणा कार्यान्वयनका लागि बार्सिलोनाले मेस्सीको तलब जुटाउन केही खेलाडी छाड्नुपर्ने भएको थियो। 

बार्सिलोनाले त्यति नाम नचलेका तीन खेलाडीलाई बेचिसकेको थियो । तथापि, मेस्सीको तलब जुटाउन केही नाम चलेका खेलाडी पनि बेच्नुपर्ने आवश्यकता थियो। वार्षिक तलब १२ करोड ३० लाख पाउन्ड तोकिएको उनको सम्झौता जुन ३० मा समाप्त भएपछि क्लबविहीन भएका थिए। तर, बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टाले मेस्सीसँग सम्झौता गर्नु आफ्नो प्रमुख लक्ष्य भएको बताएका थिए। 

मेस्सीले थप दुई सिजन बार्सिलोनामै बस्न चाहेका थिए र, बार्सिलोना पनि मेस्सीलाई राख्न चाहन्थे। मेस्सी बार्सिलोनाबाट अझै केही ठूला उपाधि जित्न चाहन्थे। त्यसका लागि उनी आफूलाई सक्षमसमेत मान्थे तर, उनको त्यो चाहना पूरा हुन सकेन। 

अन्ततः खेलाडी अनि क्लब दुवैको चाहना पूरा नहुने भएकोमा दुवै पक्ष दुखी भएको क्लबले जनाएकोे छ। बार्सिलोनाले मेस्सी र क्लबबीचको १८ वर्षको आबद्धतालाई लम्ब्याउने भनेको थियो तर, यसो हुन नसक्नुमा उसले ला लिगालाई दोष दिएको छ। 

मेस्सीको बार्सिलोनामा रहने सम्झौतामा ला लिगाले उनी वा अन्य नयाँ खेलाडी दर्ता गर्नुअघि क्लबले ज्याला घटाउनैपर्ने सर्त राख्यो। मेस्सी तथा बार्सिलोना दुवै नयाँ सम्झौता गर्ने स्पष्ट हुँदाहुँदै पनि वित्तीय एवम् संरचनागत अवरोध (स्पेनी ला लिगाका नियम)का कारण त्यसो हुन नसकेको क्लबले जनाएको छ। 

मेस्सीले गरेका योगदानका कारण सम्पूर्ण रूपमा उनीप्रति अनुगृहित रहेको र उनको उज्ज्वल भविष्यको कामना गरेको पनि बार्सिलोनाले जनाएको छ। 

मेस्सीको अबको यात्रा कता?

मेस्सीले बार्सिलोना छाडेको खबरले अहिले विश्व फुटबल तरंगित भएको छ। अब मेस्सी कहाँ जान्छन् भन्ने जिज्ञासा सबैको रहेको छ। प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीलाई मेस्सीको सम्भावित गन्तव्यका रूपमा हेरिएको छ। 

स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य सिटी हुन सक्छ। तर, सिटीले भर्खरै मात्र ज्याक ग्रिलिसलाई कीर्तिमानी सय मिलियन पाउन्डमा किनेको छ। यस्तै सिटीले टोटेनहमका फरवार्ड ह्यारी केनलाई समेत अनुबन्धको प्रयास गरिरहेको छ। 

मेस्सीको अर्को सम्भावित गन्तव्यका रूपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हेरिएको छ। तर, वित्तिय नोक्सानका कारण मेस्सी पीएसजी आउने सम्भावना कम छ। फ्रान्सेली क्लबको ध्यान केलियन एम्बाप्पेको सम्झौता नवीकरणमा छ। पीएसजीले यस सिजनका लागि मात्र सर्जियो रामोस, जियानलुइगी डोनारुम्मा, आच्राफ हाकिमी र जर्जियो विडनाल्डमलाई अनुबन्ध गरेको छ।

फ्रान्सको कर नियमले समेत मेस्सीको सरुवालाई कठिन बनाउनेछ। मेस्सीले प्रति वर्ष ३० मिलियन युरो प्राप्त गर्दै आएका छन्। यसले गर्दा मेस्सीलाई ७० मिलियन युरो दिनुपर्ने हुन्छ।

Skip This
Skip This
Logo