सत्तारुढ गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीबारे अझै टुङ्गो लगाएकौ छैन।
शुक्रबारको बैठकमा मन्त्री हुनेहरूको नामावली टुङ्गो लगाउने विषयमा छलफल हुने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताएका थिए।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले भने बैठकमा त्यसबारे छलफल नै नभएको बताए।
मन्त्रालयहरूको विभाजन नभएको, कसले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने टुङ्गो नलागेको अवस्थामा मन्त्रीबारे छलफल गर्ने कुरा नभएको श्रेष्ठले स्पष्ट पारे।
‘मन्त्रालयहरूको विभाजन नै अहिलेसम्म भएको छैन, त्यसकारण कति मन्त्रालय पाउने? कुन–कुन मन्त्रालय पाउने? टुङ्गो नलागिकन हामीले व्यक्तिका बारेमा प्रवेश गरेर छान्ने कुरा भएन’, प्रवक्ता श्रेष्ठले बैठकपछि बताए।
उनका अनुसार गठबन्धनमा त्यसबारेमा छलफल नै भएको छैन। पहिले गठबन्धनमा छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेपछि मात्रै मन्त्री पठाइने उनको भनाइ छ।
हाल सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्रीको रूपमा जनार्दन शर्मा र ऊर्जामन्त्रीको रूपमा पम्फा भुसाल छिन्।
सात वटासम्म मन्त्रालय भागमा पर्ने माओवादीले अनुमान गरेको छ। यससँगै, माओवादी सरकारमा कसको नेतृत्वमा जाने भन्नेमा पनि अनिर्णित छ।
प्रवक्ता तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठ र पूर्वउपप्रधान तथा सञ्चारमन्त्री भएका पूर्वसभामुख कृष्णबहादुर महराले नेतृत्व गर्ने भन्दै ‘लबिङ’ थालेका छन्।
मन्त्रीका लागि भने सांसदहरू हरिबोल गजुरेल, देवप्रसाद गुरुङ, सुदन किराती, सुरेशकुमार राई ‘हिमाल’, अमनलाल मोदी, शिवकुमार मण्डल, देवेन्द्र पौडेल, अञ्जना विशंखे, शशी श्रेष्ठ, जयपुरी घर्तीलगायत सूचीमा छन्।
तर, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने प्रत्येक प्रदेशबाट १÷१ जनालाई मन्त्री बनाउने रणनीति अपनाउने बताइसकेका छन्।
त्यसो हुँदा अब प्रदेश १, २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट मन्त्री बन्ने देखिन्छ। किनभने, कर्णालीबाट जनार्दन शर्मा र बागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन्।





























प्रतिक्रिया