कोरोना भाइरस अझै केही वर्ष रहन्छ, दीर्घकालीन तयारी गरौँः डा. वासुदेव पाण्डे

कोरोना भाइरस अझै केही वर्ष रहन्छ, दीर्घकालीन तयारी गरौँः डा. वासुदेव पाण्डे

केन्द्रबिन्दु
0
Shares

सरकारले अहिलेसम्म लकडाउनलाई कोरोना महामारी नियन्त्रणको मुख्य उपायका रूपमा प्रयोग गर्दै आएको छ।

अहिले पनि महामारीको दोस्रो लहरअन्तर्गत संक्रमण बढिरहेको छ। संक्रमणमा घटबढ देखिँदैछ । र, आगामी केही वर्षसम्म देखिने निश्चित छ। 

कोरोना महामारी लामो समयसम्म रहने यसले आफूलाई एकपछि अर्को गर्दै लहरको रूपमा प्रस्तुत गर्नुबाट पुष्टि भइसकेको छ। त्यसैले लकडाउन जस्ता अल्पकालीन उपायहरूबाट पार लाग्ने देखिँदैन। त्यसका लागि सरकारले दीर्घकालीन तयारी नै गर्नुपर्ने देखिन्छ। 

खोपको आपूर्ति एवम् प्रभावकारी वितरण, जनचेतनामा अभिवृद्धि, अक्सिजन आपूर्तिको व्यवस्था र आकस्मिक सेवाको बिस्तार कोरोना महामारीसँग लड्ने दीर्घकालीन उपाय हुन्। 

सबै भेरिएन्टमा खोप प्रभावकारी
खोपको प्रभावकारिताबारे धेरै किसिमका शंका उपशंका भए पनि अहिलेसम्म कोरोनाभाइरसको सबै भेरिएन्टमा खोप प्रभावकारी रहेको पाइन्छ। खोप लगाएका मानिसहरूमा गम्भीर प्रकृतिको कोरोना संक्रमण भएको पाइँदैन। त्यसैले सरकारले खोप वितरणलाई व्यवहारमै मुख्य प्राथमिकता नबनाइ महामारी नियन्त्रण हुन असम्भव छ।   

जनचेतना जगाउन जरुरी
जनमानसमा खोपको प्रभावकारितालगायत विषयलाई लिएर विभिन्न गलत बुझाइ छन्। साथै मास्कको प्रयोगबारे पनि मानिसहरू गम्भीर भएको पाइँदैन। यी कुराहरूमा सरकारले जनचेतना बढाउने प्रयास गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन। यसमा थप प्रयास गर्नुपर्ने देखिन्छ। सरकारले प्रवाह गरिरहेको कतिपय जरुरी सूचनालाई मानिसहरूले गम्भीर रूपमा लिएको पाइँदैन। जनमानसलाई सरकारको कुरामा कसरी विश्वास दिलाउने भन्ने कुरामा थप ध्यान दिनुपर्ने देखिन्छ।  

दीर्घकालीन दृष्टिकोणले जनचेतना एकदमै महत्वपूर्ण हुन्छ। भाइरस केही वर्ष रहने नै भएपछि जनता र जिम्मेवार निकायबीच प्रभावकारी संवादको आवश्यकता रहिरहनेछ।

अक्सिजन प्लान्ट र आकस्मिक सेवा 
अक्सिजनको हाहाकार त हामीले देखी नै सक्यौँ। भाइरस उत्परिवर्तन हुने र नयाँ भेरियन्ट आउने क्रम जारी रहेकाले अक्सिजनको आवश्यकता भविष्यमा पनि कायम नै रहनेछ। अक्सिजन आपूर्तिको व्यवस्था पनि दीर्घकालीन तयारीको एउटा पाटो हो।   

अब आउने नयाँ लहरसँगै गम्भीर प्रकृतिका केसहरू बढेको खण्डमा आइसियू र भेन्टिलेटर पनि कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण हुन सक्छन्। लामो समयसम्म महामारी रहने छाँटकाट देखिएपछि आकस्मिक सेवाको विस्तार र त्यसमा सुधार अत्यावश्यक देखिन्छ। 

(भाइरोलोजिस्ट डा. पाण्डेसँग केन्द्रबिन्दुका कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)

Logo