प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ । आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनसमेत दिइँदै आएको छ ।
कतिपय असंसदीय शब्द बारम्बार प्रयोग हुँदा ‘हामी पनि किन नबोल्ने ?’ भन्ने खालको स्थिति पनि निम्तिन थालेको छ । प्रतिनिधिसभाको दोस्रोपटक पुनःस्थापना भएपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबाट असंसदीय अभिव्यक्ति बढ्दै गएको भनी सांसदहरूबाटै आपत्ति जनाउन पनि थालिएको छ ।
बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री केपी ओली र एमाले सांसदहरूप्रति लक्षित गरेको अभिव्यक्ति विवादमा पर्यो । उनले ‘निवर्तमान प्रधानमन्त्री केपी ओली फिजिकल्ली र मेन्टल्ली ठीक हुनु हुन्न, उहाँले परमादेशबाट बनेको सरकार बारम्बार भने पनि सांसदहरूले आफैंलाई अपमान हुनेगरी किन परमादेश भनेको ?’ भन्दै संसद्मा आक्रोश पोखेका थिए । उनको बुझाइमा ‘परमादेशबाट बनेको सरकार’ बारम्बार प्रयोग हुँदा असंसदीय भएको छ । त्यसकारण आक्रामक भएर प्रस्तुत हुँदा उनलाई नै ‘असंसदीय अभिव्यक्ति’ दिएको आरोप लाग्यो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्तिलाई असंसदीय भन्दै नियमापत्ति गरे र रेकर्डबाट हटाउन माग गरे । बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही समय सभाको अध्यक्षता गर्न मनोनीत सांसद घनश्याम खतिवडालाई दिएका थिए । खतिवडाले यस विषयमा ध्यानाकर्षण भएको बताएपछि बैठक अघि बढ्यो । तर शुक्रबारको बैठकमा एमाले सांसदहरूले बिहीबारको बैठकमा सभामुखले ध्यानाकर्षण भएको भनेर मात्र नपुग्ने, रेकर्डबाटै हटाउनुपर्ने, अन्यथा बैठक अघि बढ्न नदिने चेतावनी दिए ।
त्यसपछि यादवको ‘निवर्तमान प्रधानमन्त्री ओली फिजिकल्ली र मेन्टल्ली ठीक नभएको’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख सापकोटाले संसद् सचिवालयलाई निर्देशन गरे । एउटा सांसदले अर्को सांसदलाई जभाभाबी ‘निम्छरा’ शब्द प्रयोग गर्न थाल्ने हो भने सदनको गरिमा नरहने भनाइ एमाले प्रमुख भट्टराईले राखेका थिए ।
सभामुख सापकोटाले ‘मेन्टली फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ (ङ) बमोजिम प्रतिकूल भएको भन्दै रेकर्डबाट हटाउन निर्देश गरेका हुन् । नियमावलीमा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्नेगरी बोल्न नहुन र अदालतलाई सम्मान गर्नुपर्ने भन्ने उल्लेख छ ।
एमाले सांसदको सो मागमा कांग्रेस र माओवादी केन्द्रले असहमति जनाए। कांग्रेस सांसद प्रमिला राईले निवर्तमान प्रधानमन्त्री ओलीलाई संकेत गर्दै भनिन्, ‘पूर्व प्रधानमन्त्रीले कुण्ठा र निम्छरा शब्दले भरिएको प्रतिपक्षबाट अरू के हुन सक्छ भन्नुभएको थियो । सायद त्यही सुनेर होला, पूर्वप्रधानमन्त्रीको भाषालाई हामी सांसदले पनि प्रयोगमा ल्यायौं।’
माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दासले पनि निवर्तमान प्रधानमन्त्री ओलीले महिनौंदेखि र अस्ति (बुधबार) संसद्मा आएर ‘परमादेशबाट बनेको सरकार’भनेर हामी जनादेशबाट आएका सांसदको अपमान गरेको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीले संसद् र सांसदलाई अपमान गर्ने कुरा संसदीय हुने, मातृका यादवले फिजिकल्ली र मेन्टल्ली ठीक हुनुहुन्न भन्दा असंसदीय हुने ?’ उनले भने । संसदमा ‘डार्लिङ’, ‘तरुनी’,‘चीरहरण’ जस्ता शब्द प्रयोग हुँदा पनि संसदको रेकर्डबाट हटाइएको छैन । २०१६ सालमा प्रवर समितिको बैठकमा नालायक शब्द प्रयोग हुँदा त्यसलाई रेकर्डबाट हटाइएको थियो । नागरिक दैनिकमा समाचार छ ।





























प्रतिक्रिया