सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताए। 

डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन्। ‘महानगरवासीले मात्रै होइन सिङ्गो देशवासीले सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतूले महानगरका क्षेत्रभित्रका सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौँ,’ शाक्यले भने, ‘महानगरले राम्रो काम गर्नेहरुसँग सहकार्य गर्ने नीति लिएको छ। त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेण्टिलेटर हस्तान्तरण गरेका थियौँ। दुई ओटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ।’

शाक्यले डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्को साढे चार तलाको आधुनिक भवन निर्माणमा महानगरपालिकाले सम्झौता गरिसकेको पनि बताए। ‘अहिले खरिद प्रक्रिया अघि बढेको छ । छिटै निर्माण प्रक्रिया अघि बढ्छ,’ शाक्यले भने, ‘ऐतिहासिक निशुल्क चिकित्सालयलाई भवन निर्माणका लागि हामीले पाँच करोड विनियोजन गरिसकेका छौँ। टोखामा आधुनिक बाल अस्पताल निर्माणका लागि चार करोड सहयोग गर्ने गरी बजेट विनियोजन सहयोग गरेका छौँ।’ 

उनले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने गरी अघि बढेको जानकारी दिए ‘कोभिडका बेला नरदेवी अस्पताल, निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्थ्याैं। राधास्वामीमा काठमाडौँ महानगरकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेशन सञ्चालन गर्थ्याैं। 

शाक्यले गंगालल अस्पताललाई अक्सिजन प्लाण्ट राख्न सहयोग गरेको पनि स्मरण गराए। उनले टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको स्मरण गराए। महानगरवासीबाट उठेको करलाई जसिक्दो उनीहरुकै सेवामा खर्च गर्ने नीति अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए। 

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले हाल सामूदायिक स्वास्थ्य सेवा परिषदबाट सामाजिक सुरक्षा भत्ता लिएका ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण भैरहेको बताए।

‘आगामी दिनमा करदाताहरुको पनि निशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना बनाइरहेका छौँ,’ उनले भने, ‘सकेसम्म हामी छिटै उहाँहरुलाई पनि प्रोत्साहित गर्न यो सेवा सुरु गर्नेछौँ।’

परिषद्का सचिव प्रकाशकुमार श्रेष्ठले महानगरले जग्ग्गाप्राप्तिको अवस्थादेखि नै सहयोग गर्दै आएको भन्दै महानगरपालिकालाई धन्यवाद दिए। ‘२ रोपनी ९ आना १ पैसामा बनेको यो परिषदबाट हाल ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका र दलितको निःशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ,’ उनले भने, ‘महानगरपालिकाकै आर्थिक सहयोगमा साढे चार तलाको आधुनिक भवन निर्माणमा भैरहेको छ। त्यसपछि यसलाई अस्पतालको रुपमा सञ्चालन गर्नेछौँ।’

Skip This
Skip This
Logo