नेकपा एमालेले लुम्बिनी प्रदेशका दुइ सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको छ।
पदमुक्त गर्न पत्राचार गरिएकोमा बिनाविभागीय मन्त्री अजय शाही र सांसद विमला खत्री ओली रहेका छन्।
लुम्बिनी प्रदेशसभाको एमालेका मुख्य सचेतक भुमिश्वर ढकालका अनुसार शाही र ओलीले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएकोमा पार्टीको विधानविपरित गतिविधि गरेकाले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको हो।
अजय शाही २०७४ सालमा प्रदेशसभा सांसदमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए। हृदयेश त्रिपाठी समूहसँग स्वतन्त्र ढंगले चुनाव लडेकाले आफूलाई कुनै पार्टीको ह्वीप नलाग्ने उनको भनाइ छ।
विमला खत्री ओली आफ्ना पति एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट उपचुनावमा निर्वाचित भएकी थिइन्।
पार्टी विभाजनपछि ओलीले पहिले आफू माओवादी, पछि एमाले अनि पुनः माओवादी पार्टीमा आवद्ध भएको बताएकी थिइन्। उनले तात्कालीन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक जस्तो बनाएर जवर्जस्ती एमाले प्रवेश गरेको भनी विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको आरोप लगाएकी थिइन्।































प्रतिक्रिया