हाइटीको भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब २ हजार

हाइटीको भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब २ हजार

केन्द्रबिन्दु
0
Shares

गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ । 

भूकम्पमा परी करिब १० हजार व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । 

यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । यस प्रकोपको कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ । 

हाइटी सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

यसअघि सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । रासस\एएफपी
 

Logo