एमाले अध्यक्ष ओलीविरुद्ध सत्तारुढ गठबन्धनको आक्रोश

एमाले अध्यक्ष ओलीविरुद्ध सत्तारुढ गठबन्धनको आक्रोश

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ । 

सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतकहरुसहितको सोमबार सिंहदरबारमा बसेको बैठकमा आक्रोश व्यक्त भएको हो ।

बैठकले सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि अध्यक्ष ओली र उहाँका दलका सांसदहरुलाई सचेत गराएको छ । 

‘संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो । त्यसैले, सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्,’ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ भन्छन्, ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो । अतः सम्माननीय सभामुखविरुद्ध दिइएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न आग्रह गर्दछौं ।’

बैठकपछि सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलका नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गरेको संयुक्त वक्तव्यमा एमालेका सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ । 

एमालेका सांसदहरुले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरुलाई गरिएको सूचना टाँस गर्न दवाव दिएका थिए । 

    
 

Skip This
Skip This
Logo