आइतबार भएको भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरे ।
खेलको दोस्रो हाफमा किरणको स्थानमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् ।
लामो समय राष्ट्रिय टिममा रहेपनि विशालले डेब्युको अवसर पाएका थिएनन् । विशाल राष्ट्रिय टिमका अभागी खेलाडी नै मानिन्थे । किरण चेम्जोङको उत्कृष्ट प्रर्दशन अघि विशाल छायाँमा पर्ने गरेका थिए ।
सन् २०११ मा नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटमा पूर्वी टिमोरको सामना गर्दा २३ सदस्यीय अन्तिम राष्ट्रिय टोलीमा पहिलो पटक परेका थिए, विशाल श्रेष्ठ । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दीमा प्रभावशाली प्रदर्शन गरेपछि उनी टोलीमा परेका थिए ।
तर, त्यतिबेला पनि टोलीमा किरण चेम्जोङ नै पहिलो रोजाइका गोलरक्षक थिए । राष्ट्रिय टोलीमा स्थान बनाएको एक दशक बितिसक्दा पनि विशालले डेब्यु गर्ने मौका भने पाएनन् । उनी २०११ पछि नियमितजस्तै टोलीमा परे ।
पछिल्लो दशकमा विश्वकप छनोट, साफ च्याम्पियनसिप, एसियन कप छनोट लगायत थुप्रै मैत्रीपूर्ण खेलका टोलीमा रहेपनि डेब्यु गर्न पाएका थिएनन् । बारम्बार टोलीमा स्थान बनाएपनि खेल्ने अवसरबाट विशाल पटक पटक बन्चित भए । अन्तिम टोलीमा परेपनि मैदानमा छिर्न नपाएका विशाल अवसरको प्रतिक्षामा निरन्तर मिहिनेत गरिरहेका थिए ।
गत जेठमा नेपालले विश्वकप छनोट खेल्ने समय भने बिशाल टिममा परेका थिएनन् । विशाल सुनारले स्थान बनाउँदा उनी टिमबाट बहिरिएका थिए । उनले त्यो समय सन्यास लिने बारेपनि नसोचेका हैनन्, तर पुन राष्ट्रिय टिममा स्थान बनाउँदै मैदान उत्रने उनको इच्छा थियो । घरेलु फुटबलका सफल र उत्कृष्ट गोलकिपर डेब्यु नै गर्न नपाएर राष्ट्रिय टिमबाट बिदा लिने हुन् कि भन्ने धेरैको चासो समेत थियो ।
अलमुताइरीले दिए विशाललाई न्याय
अन्ततः आइतबार भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा भने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विशाललाई न्याय गर्दै डेब्यु गराए । हातबाट खेल फुस्किएको अवस्थामा उनले कप्तान किरण चेम्जोङको स्थानमा बिशाललाई मैदान छिराएका थिए ।
त्यसो त भारतविरुद्ध पहिलो खेलमा पनि विशालले वार्मअपमा झन्डै आधा घण्टा बिताए । कप्तान तथा गोलरक्षक किरणले पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल रोकेपछि प्रशिक्षक अलमुताइरीले विशाललाई वार्मअप गर्न पठाएका थिए । तर दोस्रो हाफको खेलमा भारतले पकड जमाउँदै लगेपछि प्रशिक्षक अलमुताइरीले गोलरक्षक परिवर्तन गर्ने जोखिम उठाएनन् ।
विशालले डेब्युपछि सामाजिक सञ्जालमा राष्ट्रका लागि सेवा गर्ने चाहना पुरा भएको उल्लेख गरेका छन् । पक्कै पनि उनले आफ्नो एक दशक पुरानो सपना पूरा गरेका छन् ।





























प्रतिक्रिया