काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वातै बढेको छ । बिहीबारसम्मको तथ्याङलाई हेर्दा काठमाडौं उपत्यकामा २० हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।
त्यस्तै सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामालाई स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमान चालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको जनाएको हो ।
त्यस्तैगरी नेपाल धितोपत्र बोर्ड (सेबन) ले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण मार्ग निर्देशन २०७७ लागु गरेको छ । सेबनले अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न यो मार्ग निर्देशन लागु गरेको हो ।
जम्मू–कास्मिरको सीमा क्षेत्रमा पाकिस्तानले फायरिङ गर्दा अलग–अलग स्थानमा भारतीय सेनाका तीन जवानको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । कास्मिरको कुपुवारा जिल्लास्थित नौगाम सेक्टरमा दुई तथा पुन्छ सेक्टरमा एक जना भारतीय सैनिकको ज्यान गएको हो । साथै कुवान्डामा चार र पुन्छमा एक जना भारतीय सैनिक घाइते भएको जनाइएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया